मन्त्री भट्टराईद्धारा फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन

१५ महिनाभित्र निर्माण सम्पन्न हुन्छ
बुलेटिन संवाददाता
४ भाद्र २०७६, बुधबार १८:२७

४ भदौ, इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले इलाम नगरपालिका-९ गोलाखर्कस्थित निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् । बुधबार गृह जिल्ला ताप्लेजुङ जाने क्रममा मन्त्री भट्टराईले निर्माणाधीन विमानस्थलको अनुगमन गरेका हुन् ।

अनुगमनपछि भट्टराईले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै विमानस्थलाई पूर्णता दिन आफू लागिपर्ने प्रतिवद्धता जनाए । पहाडी जिल्लाका लागि आवश्यकता महशुस भएर नै निर्माण थालिएको बताउँदै उनले विमानस्थलले चाँडै पूर्णता पाउने बताए ।

विमानस्थल निर्माणको निर्माणको ठेक्का लागिसकेको जानकारी दिँदै मन्त्री भट्टराईले १५ महिनाकोभित्र हेर्न लायकको प्रगति हुने र त्यसपछि थप रकम विनियोजन गरेर विमानस्थल निर्माणलाई पूर्णता दिने बताए । विमानस्थल पर्यटन प्रवर्द्धनका लागि सहयोगसिद्ध हुने बताउँदै सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको दाबी गरे ।

विमानस्थलमा गत वर्ष नै परीक्षण उडान भइसकेको छ । इलाम सदरमुकामबाट पाँच किलोमिटर दक्षिणमा रहेको विमानस्थलको ७०० मिटर लम्बाई र ६० मिटर चौडाइ कच्ची धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ । भल व्यवस्थापनका लागि विमानस्थलबाट माईखोलासम्म नाली निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

तर, बाँकी काम नहुँदा विमानस्थलले पूर्णता पाउन सकेको छैन । विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावनमार्ग कालोपत्रे, विमान पार्किङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर ती काम अघि बढ्न सकेको छैन ।

विमानस्थलको शिलान्यास २०६८ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गरेका थिए । निर्माण सुरु भएको ८ वर्ष वितिसक्दा समेत पर्याप्त बजेट नभएको भन्दै विमानस्थलले पूर्णता पाउन सकेको छैन ।

समुद्र सतहबाट १ हजार १५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकाले विमानस्थलका लागि उपयुक्त मानिन्छ । विमानस्थल निर्माणले पूर्वी पहाडका जिल्ला र भारतको दार्जिलिङ र सिक्किमका बासिन्दाका लागि समेत सहज हुने ठानिएको छ ।