यातायात मजदुर संगठनको अधिवेशन बुटवलमा सम्पन्न

‘दुर्घटना न्यूनीकरणका लागि सहकार्य आवश्यक’
बुलेटिन संवाददाता
४ भाद्र २०७६, बुधबार १६:२९

४ भदौं, बुटवल  । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचको प्रथम अधिवेशन बुधबार बुटवलमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष कृष्णप्रसाद कंडेलको अध्यक्षता तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात मजदुरहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना मजदुरहरूमा पनि पूर्ण रूपमा कार्यान्वन हुने बताए । श्रेष्ठले दुर्घटना सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । दुर्घटनाको दोष चालकलाई मात्र दिन नहुने बताए ।

श्रमजीवी वर्गको हितका लागि सरकारले गर्ने हरेक कामको महासंघले समर्थन गर्ने उनले बताए । श्रमजीवी वर्गको पक्षमा काम गर्न सरकारलाई घच्घच्याइँ रहने र सबैलाई सामाजिक सुरक्षा प्रणालीमा ल्याउन कानूनको संशोधन गर्न, सार्वजनिक खरिद ऐनमार्फत श्रम शोषण गर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताए ।

जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतमले सामाजिक सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वन हुने बताए । सामाजिक सुरक्षा योजना कार्यान्वन हुन नदिन केही शक्तिहरु लागे पनि त्यो सफल नहुने उनले बताए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटनाका निस्पक्ष अध्ययन र अनुसन्धान गर्न आवश्यक भएको बताए । उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई गर्ने जरिवाना रकम अबैज्ञानिक रहेको जिकिर गरे । उनले दुर्घटना महामारीको रुपमा देखिएको भन्दै त्यसको न्यूनीकरणका लागि चालकहरुले तीब्र गतिमा गाडी नचलाउन आग्रह गरे ।

कार्यक्रममा जिफन्ट प्रदेश कमिटी अध्यक्ष हरि कार्की, मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राई, अटोमोवाइल टे«ड युनियम महासंघका अध्यक्ष जीवन अधिकारी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, आत्मसिंह धामी, डम्बर बुढाथोकी, लगायतले बोल्दै श्रमिकमैत्री कानून बनाउनुपर्नेमा जोड दिएका थिए ।

केशवराज पौडेलको स्वागतमा कार्यक्रम भएको थियो ।