प्रतिनिधिसभामा सांसदले भने : ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने छ

बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १३:५३

३ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने विषय उठाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले महिनामा २र३ लाख रुपैयाँसम्म कमाउने ज्योतिषीलाई पनि लाइसेन्स दिएर कानुनी दायरामा ल्याउनुपर्ने बताइन् ।

‘अरु विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउँछन् । तर ज्योतिषीले लाइसेन्स वा अधिकार पत्रबेगर काम गरिरहेका छन्’ उनले भनिन् ‘अहिले यो पेशा गर्नेहरु महिनामा २र३ लाख रुपैयाँ कमाइरहेका छन् । तर उनीहरुको निगरानी कुनै नियकाले गरेको छैन ।’

त्यसै कारण ज्योतिषी पेशामा थुप्रै बेथिती देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने बताइन् । ‘निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ, यसले करोडौं राजस्व उठ्छ र पेशा पनि व्यवस्थित हुन्छ । यो काम तत्काल गर्नुपर्छ ।’