नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट दिए राजीनामा

बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १३:२७

३ भदौ, काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए ।

तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ साहको छ ।

प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए । पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको साहको बुझाइ छ ।

प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।