पाल्पामा एकै दिन बाघ जात्रा र गणेश जात्रा

बुलेटिन संवाददाता
१ भाद्र २०७६, आईतवार १९:५९

पाल्पा, १ भाद्र ।
आइतबार पाल्पाको तानसेनमा दुई जात्रा निकालियो । श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा र बाघ जात्रा गरी तानसेनमा एकै दिन दुई जात्रा निकालिएको हो ।

तानसेन भजन संरक्षण समिति पाल्पाले संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याउने भन्दै आइतबारदेखि गणेश यात्रामा भजनसहित सहभागिता जनायो । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही र उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भजन संरक्षण समितिको कार्यक्रमलाई संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

आयोजकका अनुसार प्रत्येक वर्ष भाद्र कृष्ण तृतीयाको दिन भव्यताका साथ गणेशको रथयात्रा गर्ने प्रचलन वि.सं. १९८१ बाट प्रारम्भ गरिएको थियो । गणेश जात्रामा पहिला भगवानलाई पूजा गरी बोकाको बलि दिइने र प्रसादको रूपमा जाग्राममा बस्नेहरूलाई सम्हयबजी बाँडिने भएपनि आजकाल भगवान श्रीगणेशलाई बलि नचढाइने जानकारहरू बताउँछन् ।

श्रीनगरस्थित श्रीगणेशको रथयात्रा निकालेपछि मात्र तानसेनमा अन्य देवीदेवताहरूको रथहरू निकालिने तानसेन भजन संरक्षण समितका अध्यक्ष ब्रह्मशेखर बज्राचार्य बताउँछन् । तानसेन बजारभित्र ६ ठाउँहरूमा गणेश मन्दिरहरू रहेका छन् । आइतबार भएको श्रीनगर सिद्धी विनायक गणेश रथयात्रालाई बजारको विभिन्न भागमा परिक्रममा गराइएको थियो ।

यसैबीच आइतबार नै तानसेनमा बाघ जात्रा निकालियो । जात्रामा बाघको भेषमा सिंगारिएर युवाहरूले बाजा बजाएर बाघलाई घेल्दै र सिकार गरेको अभिनय सहित बजार परिक्रमा गरेका थिए । पाल्पामा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट बाघ जात्रा गर्ने चलन छ । जानकारहरूका अनुसार तानसेनमा मनाइने बाघजात्रा अन्य जिल्लाहरूमा मनाइने तरिका फरक रहेको छ । तिथि अनुसार कुनै कुनै वर्ष मात्र बाघजात्रा र श्रीनगरस्थित गणेको जात्रा एकै दिन पर्ने गर्दछ ।