किन हराउँदैछ ? रोपाइँजात्राको रौनक !

भोजराज भट्टराई
३२ श्रावण २०७६, शनिबार १६:५६

३२ साउन, पाल्पा । साउनको अन्तिम दिन अर्थात् शनिबार पाल्पाको मौलिक जात्रा मध्येको रोपाईँ जात्रा तानसेनमा निकालियो । गाउँघरमा गरिने रोपाईँको झलकसहित बजारका विभिन्न क्षेत्रमा रोपाहार, बाउसे, हली, खेतालीले धान रोपेको अभिनय गरेर थोरै मात्र जात्राले नगरका विभिन्न भागको परिक्रमा गरे ।

तर अघिल्ला वर्षमा विहानैदेखि बजारका क्षेत्रमा रोपाइँजात्रा देखिए पनि यसवर्ष भने छिटफुट जात्रा मात्र बजारमा देखिए । जात्रा हेर्न बजार छिरेर घरघरका पेटीमा जात्रा कुर्नेहरूले भने धित मारेर रोपाइँजात्राको मजा लिन पाएनन् । केही प्रनिनिधि जात्राको गन्ध लिएर मात्र उनीहरू घर फर्किन बाध्य भए ।

स्थानीय एक व्यापारीले पंक्तीकारसँग भने, ‘स्थानीय सरकारलाई आफ्नो मौलिक संस्कृतिको रौनक हराएकोप्रति कुनै चासो नभएर र त रौनक हरायो ।’ उनका अनुसार बजारमा चिनेजानेका पसलबाट रकम मागेर जात्राको खर्च व्यवस्थापन हुन नसक्नुका कारण अघिल्ला वर्ष जात्रा निकाल्नेहरू यसपटक बजारमा जात्रासहित आउन नसकेका हुन् ।

संस्कृतिका जानकार निर्मल श्रेष्ठले जनाए अनुसार रोपाइँजात्रा कृषि पेशासँग नजिक रहेकोले यसको मौलिकताबारे युवा पुस्ताले चासो दिनुपर्दछ । ग्रामिण क्षेत्रको कृषि कर्मको वास्तविकता बजारमा बस्नेहरूलाई बुझाउनका लागि जात्राले महत्त्व राख्ने भएपनि यसलाई सरोकारवालले सम्बोधन गर्न नसक्दा पहिचान गुम्ने खतरा रहेको श्रेष्ठले औंल्याउँछन् ।

जात्रा, संस्कृतिप्रेमी स्थानीय राजेन्द्रगोपाल सिंहले आर्थिक अभाव, बसाइसराई, युवापुस्तालाई पुराना पुस्ताले जात्रा पर्वको महत्त्वबारे बुझाउन नसक्नु र स्थानीय सरोकारवाला निकायहरूले जात्राहरूको मर्म नबुझ्नाले जात्राको उत्साह हराएको सञ्चारकर्मीलाई बताए । उनले जिल्लाको संस्कृति र जात्रा पर्वलाई व्यापीकरण गर्नको लागि सञ्चारमाध्यमले पनि समयमै सरोकारवाला निकायलाई ध्यानाकर्षण गनुपर्ने जनाउँछन् ।

‘जात्रा पर्वको राम्रो पक्षको समाचार सम्प्रेषण हुँदा पत्रकारलाई पनि राम्रो हुने हो नि, आखिर पत्रकार पनि त यही समाजका नागरिक हुन् ।’ उनले जात्रा पर्व हराउनु भनेको जिल्लाको पहिचान हराउनु भएकोले यसको संरक्षणमा सरोकारका निकाय गम्भिर हुनुपर्नेमा जोड दिन्छन् ।

बद्रेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका प्रनिनिधि शंकर गिरी संस्कृति नै हाम्रा चिनारी भएकोले यसलाई बचाइराख्नुपर्नेमा जोड दिन्छन्, ‘जात्राबाट नै जिल्लामा हजारौं पर्यटक भित्र्याउन सकिन्छ जसले लाखौं रकम बजारमा भित्रिन्छ र बजारको व्यवसायमा थप टेवा पुग्दछ ।’ गिरीले जात्रा पर्वको महत्त्वलाई जोड दिदै थप्छन्, ‘हाम्रा संस्कृति, हाम्रा चिनारी हुन्, हराएको संस्कृति प्राप्त गर्न लामो समय लाग्छ ।’ कृषि राष्ट्रलाई बताउने रोपाइँ जात्रा जोगाउनु सवैको कर्तव्य पनि रहेको उनको भनाई छ ।

देराउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली पाल्पाको जात्रा पर्वहरू समेटेर तयार पारेको आफ्नो पुस्तक, ‘तानसेनमा मनाइने जात्रा तथा चाडर्वहरू’ पुस्तकमा लेखेका छन्– रोपाइँ जात्रा कृषिमा आधारित छ । वास्तविकतामा रोपाइँजात्रा किसान र कृषिको महत्त्वपूर्ण पाटो धान रोप्दाको बखतको रोपाइँसत सम्बन्धित छ ।

धान रोप्दै बेलाको गोरुलाई कज्याउँदै …हो माले हो हो..को आवाजसँगै खेतालाहरूको हाँसो तथा रमाइलो रोपाइँ जात्रामा मिसिन्छ । उनले इतिहास बोकेको पाल्पाको रोपाइँजात्राको रौनक एकातिर आर्थिक तथा अर्कोतिर आधुनिकतासँगै घट्दै गइरहेको जनाउँछन् ।

पहिचान र मौलिकता मिसिएको रोपाइँजात्रा आगामी वर्षमा झन् रोचक र अर्थपूर्ण बन्दै जाओस् भन्ने धेरै स्थानीयको अपेक्षामा हाम्रो पनि समर्थन सहित जात्राले आन्तरिक पर्यटन विकासमा टेवा पु¥याओस् र जिल्लामा आन्तरिक पर्यटकहरूको आगमन् भइरहोस् । जय रोपाइँजात्रा ।