प्रदेशस्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु

असोजसम्ममा ईआईए सकिने
बुलेटिन संवाददाता
२९ श्रावण २०७६, बुधबार १८:४९

२९ साउन, तिलोत्तमा । तिलोत्तमामा प्रस्तावित प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु भएको छ ।

मेडिकल कलेजको भौतिक पूर्वाधारका लागि तिलोत्तमा नगरपालिकाको वडा नं १ र ८ को ( शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको ) २ सय बिगाहा जमिन सरकारले कलेजलाई हस्तान्तरण गरेको छ । कलेजलाई प्राप्त त्यो जग्गाको माटो कस्तो छ र त्यहा भएको जग्गामा के कस्ता संरचना बनाउन सकिन्छ भन्ने सम्वन्धमा अहिले प्राबिधिकको टोलीले माटो परिक्षण सुरु गरेको हो ।

माटो परिक्षणको जिम्मा नोभा कन्सल्टेन्सीले पाएको छ । नोभा कन्सल्टेन्सीका प्राबिधिकहरुले ५ दिनदेखि माटो परिक्षणका लागि डिल मेसिनबाट माटो खन्ने काम गरीरहेको बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका प्रमुख मान बहादुर घिमिरेले जानकारी दिए । धेरै स्थानबाट माटो निकाल्नु पर्ने भएकाले यसका लागि करिव १५ दिन लाग्ने र त्यो माटो प्रयोगशालामा राखि परिक्षण गरेपछी मात्र कस्ता संरचना बनाउन सकिन्छ भन्ने स्पष्ट हुने घिमिरेले बताए । माटोको प्रयोगशाला परिक्षण पश्चात भदौ अन्तिमसम्ममा रिपोर्ट प्राप्त हुने छ ।

माटो परिक्षणका अतिरिक्त सो स्थानको वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) को काम पनि भईरहेको छ । आयोजनाले ईआईएको काम असोज मसान्त सम्म पुरा गर्ने लक्ष्य बनाएको छ । ईआईएको फाइल अहिले वन तथा वातावरण मन्त्रालयमा पुगिसकेको आयोजना प्रमुख घिमिरेले बताए । उनका अनुसार ईआईए रिपोर्ट आएपछी डि.पि.आर. को काम सुरु हुने छ । ६ महिनामा डिपिआर सम्पन्न गरी यसै वर्ष आर्थिक वर्षमा निर्माण कार्यको सुरु गर्ने लक्ष्यका साथ काम गरीरहेको आयोजना प्रमुख घिमिरे बताए ।

सरकारले यति ठुलो आयोजनाका लागि आयोजना प्रमुख सहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखाअधिकृत, चालक र कार्यालय सहयोगी सहित सात जना कर्मचारीको दरबन्दी तोकेको भएपनि अहिले आयोजना र कार्यालय सहयोगी मात्रै रहेका छन । केही दिन अघि एक जना शाखा अधिकृतलाई खटाइएको भएपनि उनी कार्यालयमा हाजिर भएका छैनन ।

कलेज निर्माणमा करिव १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३ सय शैया रहने अस्पताललाई तीनवर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबीबीएस तहका विद्यार्थीको भर्ना लिइने छ ।

बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना कार्यालयको गत चैत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका थिए ।