नेकपा सांसदको माग : सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउनुपर्ने

बुलेटिन संवाददाता
२९ श्रावण २०७६, बुधबार १६:५०

२९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपड रावलले सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवा ऐनको दफावार छलफल भाग लिँदै सांसद रावलले कार्यालयमा फेसबुक बन्द गर्ने प्रस्ताव गरेका हुन् ।

‘कर्मचारीहरु कार्यालयको काम छोडेर फेसबुक चलाएर बसेका हुन्छन्,’ उनले भने, ‘कोही अधिकृतको तयारी गरेर बसेका हुन्छन् ।’

सांसद रावलले कार्यालयको सम्पत्ति, समय र सेवालाई व्यक्तिगत ढंगले प्रयोग गर्ने कर्मचारीलाई कार्वाहीको व्यवस्था गर्नुपर्ने पनि माग गरेका छन् । उनले भने, ‘कर्मचारीले कार्यालयको फोटोकपिदेखि पेन्सिल इरेजरसम्म पनि व्यक्तिगत कामको लागि प्रयोग गर्न नपाउने ब्यवस्था गरौँ ।’