रोट्याक्टद्धारा बोलबम धाममा सहयोग

बुलेटिन संवाददाता
२७ श्रावण २०७६, सोमबार १८:५३

२७ साउन, बुटवल । श्रावणको अन्तिम सोमबार शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड बढ्यो । पश्चिमको पशुपतिको नाममा पहिचान बनाएको पर्रोहा धामको स्वयंउत्पत्तिमान ज्योतीलिङ दर्शनमा आउने दर्शनार्थीहरुलाई लक्षित गरि रोट्याक्ट क्लब अफ बुटवलले शुद्ध पानी, ग्लुकोज वितरण गरेको छ ।

भक्तजनहरुको घुईचो हुने भएकाले ब्यवस्थापनमा सहयोग गरेको क्लबका अध्यक्ष रनिल श्रेष्ठले बताए । मन्दिर परिसरमा स्टल राखी युवाहरुले शुद्ध चिसो पिउने पानी र ग्लुकोज पानी वितरण गरिएको हो ।

कार्यक्रमका संयोजक दिपेश कुमार अग्रहरीले विगतका वर्षभरिमा समेत क्लबबाट आवश्यक सहयोग गर्दै आएको बताए । क्लबले मन्दिर ब्यवस्थापन समितिलाई क्लबबाट पंखा, जिन्सी सामग्री हस्तान्तरण गरेको थियो ।

क्लबले यस क्षेत्रमा युवाहरुलाई एकतावद्ध गरि नेतृत्व विकास गर्दै सामाजिक क्षेत्रमा समेत धेरै गतिविधिहरु गर्दै आएको छ ।