स्कुल विभागमा स्थायी कमिटीका पाँच जनाको दावी : नेकपा महासचिवको प्रतिवेदन तयार

बुलेटिन संवाददाता
२७ श्रावण २०७६, सोमबार १८:४२

२७ साउन, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिम्मेवारी बाँडफाँटका लागि महासचिव विष्णु पौडेलले जिम्मेवारी नपाएका नेतासँग इच्छा बुझेर प्रतिवेदन तयार गरेका छन् ।

४४१ सदस्यीय केन्द्रीय कमिटीमा जिम्मेवारी नपाएका सबैको इच्छा बुझेर प्रतिवेदन तयार पारिएको हो । रुची र दक्षताबारे सोधेर आफूले प्रतिवेदन तयार पारेको महासचिव पौडेलले बताए ।

विवादमा रहेको स्कुल विभागमा स्थायी कमिटीका आधा दर्जन सदस्यले दाबी पेश गरेका छन् । दाबी गर्ने नेताहरुमा युवराज ज्ञवाली, घनश्याम भुसाल, देवेन्द्र पौडेल, बेदुराम भुसाल, राम कार्कीलगायत रहेका छन् ।

महासचिव पौडेलले आफूले रुची, दक्षता र सुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश गर्ने तयारी गरेका छन् । पार्टीको सचिवालय बैठक यहीँ साउन २८ गते बस्ने भनिए पनि अध्यक्षद्वयको छलफलको आधारमा बैठकको मिति सर्न सक्ने महासचिव पौडेलले जानकारी दिए ।

कार्यविभाजनबारे छलफल गर्न आजै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने स्रोतले जनाएको छ । महासचिवसँग विभागको प्रमुख, भूगोलको जिम्मेवारी र काठमाडौं केन्द्रित जिम्मेवारीको इच्छा धेरैले गरेका छन् ।

तर केहीले भने पार्टीको आवश्यकता अनुसारको जिम्मेवारी दिन आग्रह गरेका छन् । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला सहइन्चार्जमा १५२, जिल्ला अध्यक्षमा चार र जिल्ला सचिवमा दुई जना गरी २७२ जनाले भौगोलिक जिम्मेवारी प्राप्त गरिसकेका छन् ।

अध्यक्ष र महासचिवबाहेक १६६ जना नेताको कार्यविभाजन हुन बाँकी छ । उनीहरुलाई विभिन्न विभाग, प्रतिष्ठान, विशेष कमिटी, जनवर्गीय संगठनको इन्चार्ज लगायतका जिम्मेवारी दिने तयारी छ ।

तर सचिवालय सदस्य रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र सचिवालय सदस्य ईश्वर पोख्रेलले स्कुल विभाग दावी गरेपछि कार्यविभाजनमा लामो समयदेखि सहमति जुट्न सकेको छैन ।