हङकङको अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीको कब्जामा, सयौं उडान स्थगित

बुलेटिन संवाददाता
२७ श्रावण २०७६, सोमबार १८:०२

एजेन्सी । हङकङका प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’ गरेपछि सयौं उडान स्थगित भएका छन् । सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सोमवार विमानस्थलको टर्मिनल भवन कब्जा गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सुपुर्दगी सम्बन्धी कानुनको बिरोधमा सुरु भएको आन्दोलन पछिल्लो समय चर्किएको छ । चीन प्रशासित हङकङमा विदेशी संघसंस्थाले आगोमा घिउ थप्ने काम गरेको भन्दै चीनले भने अन्तर्राष्ट्रिय समुदायलाई चलखेल नगर्न चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छाउइङले हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले अन्तर्राष्ट्रिय समुदायले गरेको चलखेललाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

चीन प्रशासित हङकङमा पछिल्ला केहीहप्तादेखि आन्दोलन चर्किएको छ । आन्दोलनका कारण जनजीवन कष्टकर बनेको छ । हङकङको व्यवसायिक अवस्थामा समेत समस्या आइरहेको छ । हङकङमा हजारौंको संख्यामा नेपाली नागरिक रहेका छन् ।