काँकरभिट्टाबाट अवैध हतियारसहित १ नेपाली पक्राउ

बुलेटिन संवाददाता
२७ श्रावण २०७६, सोमबार १५:०७

२७ साउन, झापा । कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत राखिएपछि झापामा पटक–पटक अवैध हतियार बरामद हुँदै आएको छ ।

खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ ।

नेपाल–भारतको सीमावर्ती नाका पानीट्यांकीमा पेस्तोल र त्यसमा लाग्ने ७ राउन्ड गोलीसहित १ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका-११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतको पानी ट्यांकी नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नम्बर बटालियन रानीडाँगाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई आइतवार साँझ विशेष सुराकीका आधारमा पानीट्यांकीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो ।

सिटी सफारी चालक रहेका चौधरी मे१ह ६९५० नम्बरको सफारी लिएर भारत पुगेको र सोही सिटी सफारीमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । भारतीय प्रहरीले उनका साथबाट ७.६५ एमएमको ७ राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।

यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिबारी गाउँपालिका-५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । पछिल्लो समय झापामा शृंखलावद्ध बम विस्फोट हुनु र पूर्वी नाकामा हतियारसहित नेपाली पक्राउ पर्नुले झापामा सुरक्षा चुनौती बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए ।