महोत्तरीमा मोबाइलको आइएमई नम्बरको आधारमा महिला हत्यामा संलग्न दुईजना पक्राउ

बुलेटिन संवाददाता
२७ श्रावण २०७६, सोमबार १२:४३

२७ साउन, महोत्तरी । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुईजना आरोपीलाई पक्राउ गरेको छ ।

गत असार ५ गते गौशाला नगरपालिका-१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनाको अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमई नम्बरका आधारमा स्थानीय दुईजनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका गौशाला नगरपालिका-२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका-८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

गत असार ५ गते मध्यरातको समयमा श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हतियार प्रहार गरी फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलसमेत लुटेका थियो ।

घटनाको अनुसन्धानको क्रममा मोबाइलको आइएमइको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए । आरोपीलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिँदै आचार्यले अनुसन्धानबाट थप सत्यतथ्य बाहिर आउने उल्लेख गरे ।

गौशाला बजारमा सञ्चालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई मध्यराति निजकै घरमा चक्कु प्रहार गरिएको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको लागि जनकपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।