पोखराको नगरबसमा कार्डबाट भाडा

बुलेटिन संवाददाता
२६ श्रावण २०७६, आईतवार १४:२९

२६ साउन, कास्की । पोखरा महानगर क्षेत्र चल्ने सार्वजनिक यातायातका साधनमा भाडा तिर्दा नगद बोक्नु नपर्ने भएको छ । महानगरपालिकाले भाडाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कार्डबाट भुक्तानी सेवा दिने तयारी गरेको महानगरले अहिलेलाई अनलाइन टिकेटिङ सेवा सञ्चालन गरेको हो । यस सेवामा दूरीअनुसारको भाडादरसहितको टिकट यात्रुले पाउँछन् । त्यसको बदला पैसा भने तिर्नुपर्ने महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

महानगरले केही समयभित्रै कार्ड सेवा लागू गर्ने भएको छ । सूचना अधिकारी सुवेदीका अनुसार नगरबसमा यात्रा गर्दा यात्रुले कार्डबाट भाडा तिर्ने छन् । बसमा कार्ड स्वाइप गर्ने मेसिन जडान गरिएको हुनेछ ।

यसका लागि महानगरले अहिले ओम डेभलपमेन्ट बैंकसँग सम्झौता गरिसकेको छ । बैंकले यात्रा कार्ड उत्पादन र वितरण गर्नेछ । उपभोक्ताले यस्तो कार्ड भने बसका साथै वडा कार्यालयबाट समेत पाउने छन् । कार्डमा पैसा जम्मा गर्न रिचार्ज गर्न सकिने छ । यसका लागि महानगर र बैंकले ठाउँठाउँमा काउन्टर वा सेवा केन्द्र राख्ने छन् ।