म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरियो

बुलेटिन संवाददाता
२५ श्रावण २०७६, शनिबार १३:३४

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ । प्रदेश–३ सरकारको ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो ।

सिसी क्यामरा तथा नवनिर्मित शौचालयको आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित महानगर निर्माणका लागि सिसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘सुरक्षित महानगरपालिका बनाउन काठमाडौं महानगरपालिकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई पाँच करोड ८१ लाख आर्थिक सहयोग गरेको छ,’ उनले भने ।

प्रमुख शाक्यले महानगरको सबैभन्दा ठूलो १६ नम्बर वडा भएकाले बजेट विनियोजनमा विशेष प्राथमिकता दिएको उल्लेख गरे । म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले यसभन्दा पहिला पनि एक करोड आर्थिक सहयोग गरेको उनको भनाइ थियो ।