धनगढीबाट नक्कली नोटको कारोबार गर्ने गिरोह पक्राउ

बुलेटिन संवाददाता
२४ श्रावण २०७६, शुक्रबार १२:२८

२४ साउन, धनगढी । नक्कली नोटको कारोबार गर्ने गिरोहलाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर-१ को नैनादेवी टोलबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर-१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रज वार, सोही ठाउँका २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर-३ का २४ वर्षीय पल्लवराज भट्ट र महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू मध्ये तीनजनालाई धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक सुदिप गिरीले बताए ।

उनीहरूको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ । उनीहरूको साथबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ ।

यस्तै माथिल्लो अगाडीको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोट सहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैँची, एक थान स्केल, एक थान मोबाइल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्रयाम्प समेत बरामद गरिएको छ । पक्राउ परेकाहरू माथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायव उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

यसअघि पनि नक्कली नोटसहित पक्राउ परेका थप तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । नक्कली नोटसहित पक्राउ परेका कैलारी गाउँपालिका वडा नम्बर-५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवण कुमार सिंह र सोही ठाउँका गुरुजीत सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो ।