उपराष्ट्रपति पुनद्धारा आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई हस्तान्तरण

बुलेटिन संवाददाता
२३ श्रावण २०७६, बिहीबार १९:००

२३ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो एक महिनाको तलब क्यान्सर पीडितका लागि सहयोग गरेका छन् ।

उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेको हुन् ।

उपराष्ट्रपति पुनले कर र अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार रुपैयाँ क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

उपराष्ट्रपतिले केहीं दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्दै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए । सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताए । उनले क्यान्सर पीडितहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।