सरलता र सहजता : जीवन जिउने उत्तम कला

लाटोकोसरोको कथा र मानव जिवनमा यसको सार्थकता
ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
१६ श्रावण २०७६, बिहीबार १५:५६

बुटवल ।  मानवले जीवनमा विभिन्न उदारचढाब र परिस्थिति झेल्नुपरेको हुन्छ । कतिपय मानिसले ती परिस्थिति र उदारचढावमा समान रहेर यात्रा गर्न नसक्दा मानिस आफ्नो गन्तव्यलाई भेटाउन सक्दैनन् ।

आफुभित्रका स्वभाविक गुणलाई पनि मानिसले सहज ढंगले नलिग्दा अफ्ट्यारो परिरहेका हुन्छन् । सरलता र सहजताको रहस्यलाई नचिन्दा मानिसहरू अनावश्यक समस्यामा गुजि्ररहेका हुन्छन् । आफ्नो पन र आफ्नो स्वभाविक गुणलाई सहजै स्विकार्दै अघि बढिरहनु सहज जीवनको माध्यम हो ।

कतै एउटा गाउँ नजिकै घनाजङ्गल थियो । त्यहाँ अनेकौं जनावर र चराचुरुङ्गी बस्थे । एउटा लाटोकोसरो पनि आफ्नो परिवार साथ गुँड बनाएर त्यही बस्थ्यो । जङ्गलका सबै पशुपक्षी उसलाई अत्यन्त अशुभ मान्थे । त्यसैले उसलाई कसैलेपनि आफ्नो नजिक आउन दिदैनथ्ये ।

उसले बोल्न साथ सबैले सबैले उसलाई बेस्सरी गाली गर्थे र सकभर भगाउने प्रयत्न गर्थे । उ नजिकैको मानव बस्तीतिर पनि जान सक्दैनथ्यो । मानिसले पनि उसलाई मन पराउदैनथे । प्राय रातको समयमा बोल्ने लाटोकेसेरोको आवाज सुनेपछि मानिसले पनि उसलाई बेस्सरी गालि गर्थे । कतै देखे ढुंगाले हान्न समेत पछि पर्दैनथे।

जङ्गलदेखि मानव बस्ती सम्म यस्तो अपमान हुन थालेपछि लाटोकेसरो निकै दुःखित भयो । उसलाई आफ्नो परिवार लिएर कतै टाढाको अर्कै जङ्गलमा बसाइँसराइ गर्न पाए हुन्थ्यो जस्तो लाग्न थालो । दिनप्रतिदिन उसमा निराशा बढ्दै गयो । नजिकै उसको निकै मिल्ने साथी चमेरो बस्थ्यो । एकदिन उसले चमेरोलाई भेट्यो । अनि उसले भन्यो – मित्र चमेरो, म त अब यहाँ बस्न नसक्ने भए ।

जता गएपनी सबैले मलाई खिल्ली उडाउछन् । कसैले पनि मलाई नजिक जान दिदैनन् । मानिसलेत झन् देख्नै सक्दैनन् । अब म परिवार लिएर अन्तै जान्छु । तिमीहरू राम्ररी बस्नु उसको कुरा सुनेपछि चमेरोले सम्झाउदै भन्यो – मित्र लाटोकेसरो, जहाँ गएपनी परिस्थिति यस्तै हो ।

आफू जन्मेको ठाउँमा त यस्तो अवस्था छ भने नयाँ ठाउँमा के मात्रै नहोला ? तिमी जहाँ गएपनी तिम्रो आवाज तिमी संगै जाने हो । अनि तिमी त्यहाँ पनि अपमान नै त पाउनेछौ ।

त्यसैले दुःखित र चिन्तित हुन पर्ने कारण छैन । उनिहरूले तिम्रो निन्दा गर्छन् भने तिमी त्येता तिर ध्यान नदेऊ । आफूले सद्गुण अपनाउ । हामीले पनि हरेक परिस्थितिलाई सहज स्विकार्दै अघि बढ्नुको विकल्प छैन ।

भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ –
“सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।”

सुख:दुःख, लाभ हानी, जय पराजय लाई बराबर सम्झेर वा सबै परिस्थितिमा समभाब राखेर निरंतर कर्कब्य कर्म गर्न पर्छ । मानव जीवनमा सुखदुःख हर्ष विषाद, लाभ हानी, जय पराजय, सफलता विफलता आदि अवस्था बारम्बार आईनैरहन्छन् । जस्तो सुकै परिस्थितिमा पनि मानिसले आफ्नो अवस्थामा बिचलन आउन दिन हुदैन । हरेक परिस्थितिमा समान रहनु पर्छ । आफ्नो कर्तव्य छोडनु हुदैन ।

अहिले समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्तिको विकास र आन्तरिक समस्याको आफैबाट गर्न सक्नु पर्दछ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउछ तर समाधान आफैबाट खोजिनु पर्दछ ।

यात्रा जति कठीन नै किन नहोस असंभव पक्कै पनि हुदैन परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरुबीच पनि अवसर देख्न सक्नु व्यावसायिकजीवनका अपरिहार्य विषयहरु हुन् । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ ।

आज मानिस समस्य माथि चिन्ता गर्छन् । चिन्ताले कहिल्यै समाधान हुदैन । चिन्ताले त अस्थिरता मात्र निम्त्याउछ,स्रोत र शक्तिको ह्रास गराउछ । तसर्थ चिन्ता नगर्नुस, शितल हृदयले प्रत्येक समस्यामाथि सोच्नुहोस, चिन्तन गर्नुस्, विचार गर्नुस् । समस्याको हल गर्ने उपाय निकाल्नुस् । कुनै पनि यस्तो विषम परिस्थिति छैन, जसको समाधान गर्न नसकियोस् ।

अत: सद्विचार संगै सरलता र सहजताले सफलताको शिखरमा पुर्‍याउछ । अस्तु ।।

( लेखक स्वतन्त्र पत्रकार संघ रूपन्देहीका उपाध्यक्ष हुन )
dumrechakrapani@gmail.com