गण्डकी प्रदेशमा एक महिनामै ५ अर्ब खर्च

बुलेटिन संवाददाता
१५ श्रावण २०७६, बुधबार १५:२२

१५ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष (आव)को जेठसम्ममा कुल बजेटमध्ये १९ प्रतिशत मात्र खर्च गर्यो ।

११ महिनामा १९ प्रतिशत मात्र बजेट खर्च गरेपछि प्रदेशवासीको आक्रोश बढ्न थाल्यो । तर, जनआक्रोश थामथुम पार्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट खर्च, ‘खर्चका लागि’ नगर्ने, बरु बचाएर अर्को वर्ष धेरै योजनामा खर्च गरिने तर्क गरे । तर, उनको भनाइविपरीत गत आवको अन्त्यमा प्रदेश सरकारले ११ महीनामा खर्च गरे बराबरको बजेट एकै महीनामा खर्च गर्यो ।

गत आव २०७५/०७६ को जेठ मसान्तसम्म चालू र पूँजीगत गरी कुल ६ अर्ब २० करोड ६४ लाख ६८ हजार रुपैयाँ खर्च गरेको गण्डकी प्रदेश सरकारले असार महिनामा मात्रै ४ अर्ब ७६ करोड ७६ लाख ९६ हजार रुपैयाँ खर्च गरेको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालय पोखराले जनाएको छ। उक्त कार्यालयका अनुसार सो महिनामा चालूतर्फ २ अर्ब ६ करोड ९७ लाख ३८ हजार रुपैयाँ र पूँजीगततर्फ २ अर्ब ६९ करोड ७९ लाख ५८ हजार गरी सो रकम खर्च गरेको हो ।

सरकारले गत आवका लागि कुल २४ अर्ब २ करोड ३३ लाख बजेट छुट्याएको थियो, जसमध्ये पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख र चालूतर्फ ८ अर्ब ११ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। गतआवको असार मसान्तसम्ममा प्रदेश सरकारले कुल बजेटमध्ये ५९ प्रतिशत अर्थात् १३ अर्ब ९५ करोड ७४ लाख खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमका अनुसार प्रदेश सरकारले चालूतर्फको बजेटमध्ये ५ अर्ब २३ करोड ३५ लाख रुपैयाँ र पूँजीगततर्फ ८ अर्ब ७२ करोड २३ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।

गौतमका अनुसार असारको अन्तिम पाँच दिनमा मात्रै २ अर्ब रुपैयाँ निकासा भएको छ । यो कुल बजेटको २० प्रतिशत हो । असार मसान्तमा मात्रै कुल बजेटको ३३ प्रतिशत खर्च भुक्तानी भएको उनले बताए। असारमा पूँजीगततर्फ ३२ र चालूतर्फ ३४ प्रतिशत खर्च भएको उनले बताए ।

अधिकांश बाँकी बिल भर्पाइको भुक्तानी असार मसान्तमा हुने हुँदा मन्त्रालयको पूँजीगत खर्च ठूलो देखिएको लेखा अधिकृत गौतमको भनाइ छ । उपभोक्ता समितिमार्फत भएका निर्माणसम्बन्धी काम सम्पन्न भइसकेपछि मात्रै भुक्तानी लैजाने हुनाले पनि यस्तो खर्च देखिएको कर्मचारीहरू बताउँछन्। बितेको ११ महिनामा भने उक्त मन्त्रालयको दुवै तर्फको खर्च ३ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ मात्रै थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले असार मसान्त सम्म १५ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । खर्च भएको कुल बजेटमा चालूतर्फ ९ करोड ५७ लाख र पूँजीगततर्फ ५ करोड ६३ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ। सबैभन्दा बढी खर्च गर्नेमा उद्योग तथा पर्यटन मन्त्रालय रहेको छ । उक्त मन्त्रालयले चालू र पूँजीगत दुवैतर्फ गरी १ अर्ब ७३ करोड ६० लाख अर्थात् ७८ प्रतिशत बजेट खर्च गरेको छ ।

असार महिनाको मन्त्रालयगत खर्च

नयाँ संरचनाअनुसार तीन तहका सरकार बने पनि गण्डकी प्रदेशमा पुरानै प्रवृत्ति कायम छ । गण्डकी प्रदेशले ११ महिनामा खर्च गरेको हाराहारीमा असारको एकमहिना खर्च गरेको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले असारमहिनामा २ अर्ब २ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ। त्यसैगरी कृषि तथा भूमि मन्त्रालयले एक महिनाको अवधिमा ८८ करोड २ लाख खर्च गरेको छ। यस्तै सामाजिक विकास मन्त्रालयले ७८ करोड ३१ लाख खर्च गरेको छ भने उद्योग तथा पर्यटन मन्त्रालयले ६४ करोड २८ लाख खर्च गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ भने आर्थिक मामिला मन्त्रालयले २ करोड ५३ लाख खर्च गरेको छ। यस्तै प्रदेशसभाले १ करोड ८८ लाख, आन्तरिक मामिला मन्त्रालयले १ करोड ४० लाख र मुख्य न्यायाधीवक्ताको कार्यालयले १७ लाख ६८ हजार खर्च गरेको छ।