चार साहित्यकार सम्मानित

बुलेटिन संवाददाता
७ श्रावण २०७६, मंगलवार ०३:४६

पाल्पा
शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठानले पाल्पाका चार स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले लक्ष्मीप्रिय जगतबहादुर जोसी स्मृति पुरस्कार २०७६ बाट पाल्पाली साहित्यकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा साहित्यकारहरू प्रकाश प्रधानाङ्ग, गोपीकृष्ण शर्मा, युवराज पौड्याल र चक्रब्यूह थापा रहेका छन् । साहित्यकार जगतबहादुर जोसीको ९३ औं जन्म जयन्तीको अवसरमा साहित्यकारहरुलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा बोल्दै अग्रज साहित्यकार कृष्णप्रसाद कोइरालाले पाल्पाको शिक्षा, साहित्य क्षेत्रमा जगतबहादुर जोसीको योगदान महत्त्वपूर्ण रहेको बताए । उनले स्रष्टाको सम्मानले नेपाली वाङ्मयको क्षेत्रलाई उजागर गर्न थप सहयोग गर्नेमा जोड दिए । कोइरालाले नेपाली साहित्य क्षेत्रमा जोसीले पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले हरेक वर्ष कार्यक्रम गर्दै आएको प्रति प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्वहरू साहित्यकार तथा त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज पौड्याल, चक्रब्यूह थापाले प्रतिष्ठानले योगदानको कदर गर्दै सम्मान गरेको भन्दै धन्यवाद व्यक्त गरे । पत्रकार एवम् साहित्यकार भोजराज भट्टराईले जगतबहादुर जोशीको योगदान र सम्मानित व्यक्तित्वहरूको विषयमा प्रकाश पारे ।

कार्यक्रममा ३० जना भन्दा बढी श्रष्टाहरूले विभिन्न विधाका सिर्जना वाचन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहीत ज्ञवालीको स्वागत, महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । वि.सं. २०६३ सालमा स्थापित शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठानले शिक्षा, स्वास्थ्य तथा साहित्यिक जागरणका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।