कञ्चनपुरका अध्यक्षद्धारा वर्षभरिको तलब बृद्धबृद्धा र अपाङ्गलाई वितरण

बुलेटिन संवाददाता
५ श्रावण २०७६, आईतवार ०९:०६

५ साउन, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो तलब भत्ताबापत प्राप्त भएको एक वर्षको रकम वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन् ।

जनप्रतिनिधिहरू सेवा–सुविधा भोगी र भ्रष्टाचारमा लिप्त रहेको आरोप लागिरहेका बेला वडाध्यक्ष कुँवरले तलब भत्ताबापतको रकम गाउँका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन् ।

नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित कुँवरले आइतबार वडाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवार गरी १ सय ४२ जनालाई आफूले पाएको रकम वितरण गरेका हुन् ।

उनले प्रत्येक व्यक्तिलाई १ हजार ५ सय रुपैयाँका दरले २ लाख ६४ हजार रुपैयाँ वितरण गरेको बताए । स्थानीय तह निर्वाचनका बेला कुँवरले आफू चुनावमा निर्वाचित भए तलब–भत्ताको रकम वडाका वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गर्ने घोषणा गरेका थिए ।

उनले गत वर्ष पनि आफूले पाएको तलब १ सय ६२ वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गरेका थिए । ‘मैले निर्वाचनका बेलामा मत माग्दै गर्दा जितेपछि ५ वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिए,’ उनले भने, ‘त्यही बाँचा पूरा गर्दै छु ।’