विज्ञापनको विरोधमा लोकसेवा आयोगको कार्यालय घेराउ

बुलेटिन संवाददाता
२ श्रावण २०७६, बिहीबार १२:४९

२ साउन, काठमाडौ । लोकसेवा आयोगको विज्ञापनको विरोधमा आरक्षण बचाउ अभियानले आज अनामनगर स्‍थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

आज भएको कार्यक्रममा आदोलनकारीहरुले पहिला आयोग कार्यालयको गेटमा बसेर विरोध गरेका थिए । पछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थिए। करिब दुई घण्‍टा चलेको घेराउ कार्यक्रममा प्रहरी र आन्दोलनकारी बीच धक्का धक्की भएको थियो ।

आन्दोलनकारीले विज्ञापन खारेज गर्दै आरक्षणको व्यवस्था सहित पुनस् विज्ञापन हुनुपर्ने माग गर्दै आएका छन् ।