एक ठाउँमा बुद्धको मूर्ति तोडफोड हुँदैमा धार्मिक सहिष्णुतामा खलल हुदैन : सञ्चारमन्त्री बाँस्कोटा

बुलेटिन संवाददाता
२ श्रावण २०७६, बिहीबार १२:२५

२ साउन, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन् ।

छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनको भनाई छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्काटाले एक ठाउँमा बुद्धको मूर्ति तोडफोड हुँदैमा धार्मिक सहिष्णुतामा खलल नपुग्ने पनि दाबी गरे ।

‘यसलाई अहिले नै धार्मिक सहिष्णुतासँग जोडेर प्रश्न उठाउन आवश्यक छैन’, उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक तथा १० वटा भन्दा बढी धर्म सम्प्रदाय नेपालमा छन् । तिनका हजारौं, चैत्य गुठी, मठमन्दिर छन् । त्यो एउटा घटनालाई लिएर त्यो कमजोर कडीमा हाम्रो सहिष्णुता खलल हुन्छ भन्ने ठान्नु हुँदैन । त्यो सम्भव छैन।’

अपराध कसले किन गर्यो भन्ने केही समयपछि खुल्दै जाने भन्दै मन्त्री बाँस्कोटाले थपे, ‘बद्मासी कसले किन गरेको भन्नेबारे सम्बन्धित निकायले छानविन गरिरहेको छ ।’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका बुद्धको मूर्तिहरु तोडफोड गरेको घटनाप्रति यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ध्यानाकर्षण जनाउँदै धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा घटना घटाइएको टिप्पणी गरेको थियो ।

साथै घटनाको छानविन गरी दोषीलाई यथाशिघ्र कानुनी कारवाही पनि माग गरेको छ ।

यो पनि पढ्नुहोस

तिलोत्तमा नगरपालिकाको सडकमा राखिएका बुद्धका मूर्ति तोडफोड