स्याङ्जामा दलित परिवारलाई निःशुल्क सिलाइ मेसिन  वितरण

बुलेटिन संवाददाता
३० असार २०७६, सोमबार ०६:२७

३० असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेसिन वितरण गरिएको छ ।

गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक/एक जना गरी कूल ३८ जनालाई मेसिन हस्तान्तरण गरिएको हो ।

महिलालाई स्वरोजगार र पेशाप्रति दक्ष बनाई आत्मनिर्भर बन्न अभिप्रेरित गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले तीन महीना तालीम प्रदान गरेपश्चात् निःशुल्क सिलाइ मेसिन हस्तान्तरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘विशेष गरी दलित तथा विपन्न महिला दिदीबहिनीलाई सीप सिकाइ आत्मनिर्भर बनाउनका लागि यस ठाउँलाई छनोट गरी तालीमपश्चात् मेसिन हस्तान्तरण गरेका हौं,’ नगर प्रमुख खाँणले भने, ‘सीपसँगै मेशिन हस्तान्तरण गरिएकाले पनि सिलाइकटाइलाई व्यावसायिकतामा ढाल्नका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छु ।’

गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत हामीलाई छनोट गरी तालीम तथा निःशुल्क मेसिन हस्तान्तरणले निक्कै खुशी बनाएको तालीममा सहभागी वालिङ १४ तमादीकी माया नेपालीले बताइन् ।