बाढी, पहिरो पिडितको उद्धार र राहतमा जुट्न राष्ट्रपति भण्डारीको आह्वान

बुलेटिन संवाददाता
२९ असार २०७६, आईतवार १३:२४

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा सहानुभूति सहित समवेदना व्यक्त गरेकी छन् ।

उनले प्राकृतिक विपद्को यस दुःखद् घडीमा पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय तथा सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपतिले आह्वान गरेकी छन् ।

साथै, उनले भविष्यमा आइपर्ने यस प्रकारका प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउन आमजनता र सम्बद्ध सबैको ध्यानाकर्षण गराउनु भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।