कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको मृत्यु

बुलेटिन संवाददाता
२९ असार २०७६, आईतवार ०८:४१

२९ असार, कुवेत । कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको ज्यान गएको छ ।

शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले उज्यालोलाई जानकारी दिए ।

प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उनले बताए ।

मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ। अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भएर नभएकोबारे अहिले पुष्टि नभएको पनि मगरले जानकारी दिए । ‘हामीले जानकारी संकलन गरिरहेका छौं, तर घाइतेबारे जानकारी पुष्टि भएको छैन’ उनले भने ।

मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।