सुर्खेत र जाजरकोटबीच सीमा विवाद, बोर्ड भत्काइयो

बुलेटिन संवाददाता
२७ असार २०७६, शुक्रबार १४:१०

२७ असार, सुर्खेत । राज्यको पुनर्संरचना भएर स्थानीय तहमा सरकार बनेको २ बर्ष पूरा भैसकेको छ । सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद भएको छ ।

सुर्खेत र जाजरकोटबीचको सीमावर्ती छेडा बजारमा सिम्ता गाउँपालिकाको बोर्ड भत्काइएको छ । उक्त क्षेत्रमा रहेको जग्गा सुर्खेत जिल्लाको मालपोत कार्यालयमा दर्ता छ । उच्च अदालतले समेत जग्गा धनीका पक्षमा दर्ता सुर्खेत कायम हुनेगरी फैसला गरिसकेको छ ।

बोर्ड भत्काइएपछि सिम्ता र शिवालयबीच तनाव उत्पन्न भएको छ । स्थानीय युवा बिक्रम हलामले आफ्नो जग्गा त्यहाँ रहेको कुरा अदालतले समेत सदर गरिसकेको विषयमा फेरी विवाद गर्न नहुने बताएका छन् ।

शिवालय गाउँपालिकाकै जिम्मेवार पदाधिकारीको आग्रहमा सिम्ता गाउँपालिकाको बोर्ड भत्काउन लगाइएको बिक्रमले आरोप लगाए ।