सिन्धुलीमा झुण्डिएको अवस्थामा वेवारिसे शव फेला

बुलेटिन संवाददाता
२६ असार २०७६, बिहीबार १२:१०

२६ असार, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ कात्तिके जंगलमा झुण्डिएको अवस्थामा वेवारिसे शव फेला परेको छ ।

अन्दाजी ४० वर्षको पुरुषको शव चिलाउनेको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए।

शवको अवस्था हेर्दा चार पाँचदिन पहिला नै झुण्डिएर मृत्यु भएको हुनसक्ने उनले बताए। शव कुहिएको अवस्थामा भएका कारण पहिचान हुन नसकेको उनले जनाए।

स्थानीयले घाँस काट्न जाँदा शव देखिपछि प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याएर राखिएको थापाले जानकारी दिए।