कैलालीका बाढी प्रभावित क्षेत्रमा उच्च शर्तकता

बुलेटिन संवाददाता
२६ असार २०७६, बिहीबार ०९:५९

२६ असार, धनगढी । दुई दिनदेखिको निरन्तर चुरेबाट उत्पन्न नदी र कर्णाली नदीमा जलस्तर बढेको छ । प्रभावित क्षेत्रलाई उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ ।

चुरेबाट उत्पन्न भएका मोहना, कान्घ्रा काडा, खुटिया नदीले कैलालीको दक्षिणी–पूर्वी क्षेत्र डुबानमा पर्ने गरेको छ । जिल्लाको पश्चिम–पूर्व भएर बग्ने मोहना नदी कर्णालीमा मिसिने गरेको छ ।

मोहना नदीले गोदावरीदेखि धनगढी उपमहानगरपालिकाको केही वडालाई समेत प्रभावित गर्दै कैलारी र भजनी नगरपालिको अधिकांश क्षेत्रलाई डुबानमा पार्ने गरेको छ । मोहना नदीको जलस्तर बिहानसम्म १ दशमलव ५ पुगेको छ । तीन दशमलव ५ मा पुगेपछि खतरा बस्ती प्रभावित हुने गरेको छ ।

जिल्लाको मध्यवर्ती क्षेत्रलाई कान्ध्रा, काडा, खुटिया, गौरीगंगा लगायतका नदीमा आएको बाढीले प्रभावित पार्ने गरेको छ । उक्त स्थानीय नदीमा पनि जलस्तर बढ्दै गएको छ । खुटियाको २ दशमलव ५ पुगेको छ । यो नदीमा पनि ३ दशमलव ५ जलस्तर पुगेपछि खतराको घण्टी बज्ने गरेको छ ।

कर्णाली नदीमा अहिले ६ दशमलव ७ जलस्तर मापन भएको छ । १० दशमलव ५ पुगेपछि यसले जिल्लाको पूर्वी क्षेत्र लम्कीदेखी टीकापुर नगरपालिका डुबानमा पर्ने डर हुन्छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारी वर्षाको सम्भावनालाई मध्यनजर गरेर प्रभावित हुन सक्ने क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचना जारी गरिएको बताए । उद्धारका लागि सुरक्षाकर्मीहरुलाई तैनाथ राखेको बताए ।

बाढी प्रभावित क्षेत्र भजनी लालबोझीका सुखीराम चौधरीले वर्षा नरोकिएकोले बाढीको चिन्ता बढेको बताए । ‘बाढीको डरले गर्दा रातमा निद र दिनमा चैन छैन कुन बेला मोहना र कान्ध्रामा बाढी आउँछ घर खेत बगाउँछ भन्ने हो,’ चौधरीले भने ।

यसैबीच दुई दिनको वर्षाले धनगढी बजार क्षेत्रको केही क्षेत्र जलमग्न भएका छन् । उपमहानगरपालिका धनगढीले ढलनालीको व्यवस्था नगर्दा नगरवासीले पानीले निकास नपाएर सडकमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।