हरिशयनी एकादशी एवं तुलसी रोप्ने दिन

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)
२६ असार २०७६, बिहीबार १३:२४

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)
आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस बर्ष यहि २७ गते ( भोलि ) परेको आषाढ शुक्ल एकादशीका दिन देखि कार्तिक शुक्ल एकादशीका दिन सम्म भगवान विष्णु चार महिना क्षीरसागरमा चार महिना शयन गर्नुहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

भगवान विष्णुका भक्तहरू चतुर्मास व्रत बस्दछ्न् । यी महिनामा बिवाह,व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न निषेध छ। हिन्दु धर्ममा एकादशी व्रत महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । जुन वर्ष अधिकमास पर्छ
त्यस वर्षमा २६ वटा एकादशी पर्दछ । ग्रहहरुका राजा सूर्य मिथुन राशिमा आएको समयमा हरिशयनी एकादशी पर्दछ ।

पुराणका प्रसङ्गहरुका अनुसार यस दिनदेखि चार महिनासम्म भगवान विष्णु पाताल लोकमा राजा बलिको ढोकामा बसी कात्तिक शुक्ल एकादशीको दिन फर्किने उल्लेख छ । त्यस कारण नै आजको दिनलाई हरिशयनी र कात्तिक शुक्ल एकादशीलाई प्रबोधिनी एकादशी भनिन्छ । यसैले नै यो चार महिनाको समयमा व्रतबन्ध, विवाह, मन्त्र लिने कार्य, गृहप्रवेश, मन्दिरको प्राण प्रतिष्ठा लगायतका कार्यहरु निषेध गरिएको छ ।

भविष्य पुराण, पद्म पुराण तथा श्रीमद्भागवत महापुराण लगायतका ग्रन्थहरुमा हरिशयन गर्नुलाई योगनिद्राको रुपमा व्याख्या गरिएको छ । संस्कृतमा हरि शब्द सूर्य, चन्द्रमा, वायु, विष्णु आदि अनेक अर्थमा प्रयुक्त हुन्छ । हरिशयनका तात्पर्य यो चार महिनामा बादल र वर्षात्का कारण सूर्य र चन्द्रमाको तेज क्षीण हुनुको नै प्रतीक मानिन्छ । निरन्तर वर्षा र पानीको कारण पित्तरुपी अग्नि कमजोर र शान्त हुनाले शारीरिक शक्ति क्षीण हुनुका साथै शक्ति कमजोर बन्दछ ।

वैज्ञानिक खोज तथा अनुसन्धानका अनुसार पनि यो चार महिनामा विशेष गरेर वर्षा ऋतुमा बिभिन्न प्रकारका किटाणु र सूक्ष्म रोगका जन्तुहरु उत्पन्न हुन्छन् । पानी बढी पर्ने र सूर्यको तेज पृथ्वीमा थोरै माात्र आउने भएकाले यस समयमा किटाणुहरुको नकारात्मक प्रभाव बढी हुन्छ । त्यसकारण यस समयमा खानपान तथा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्दछ ।

धार्मिक शास्त्रहरुका अनुसार आषाढ शुक्ल पक्षको एकादशीका दिन भगवानले दुष्ट राक्षस शंखासुरको वध गर्नुभएको थियो ।

त्यस्तै अर्को प्रसङ्ग अनुसार बताइएको छ । भगवान् विष्णुले दैत्यहरुलाई नियन्त्रण गर्न वामन अवतार लिनुभएको थियो । वामन भगवानले राजा बलीको यज्ञमा गइ तीन पाइला जमिन माग्नुभयो । बलीले संकल्प गरी दिएपछि विशाल रुप बनाई पहिलो पाइलाले सम्पूर्ण पृथ्वी, आकाश र सबै दिशा, दोश्रो पाइलाले स्वर्ग ढाक्नुभयो । तेश्रो पाइला कहाँ राँखु भनेर माग्दा बलीले आफ्नो शिरमा राख्न लगाउनुभयो ।

बलीको यस्तो उदार दानलाई भगवान्ले मुक्तकण्ठले प्रशंसा गरि सुतल लोकको अधिपति बनाएको प्रसँग छ । त्यसपछि खुशी हुँदै भगवानले आशीर्वाद दिंदै भन्नुभयो, ‘बली एक वर माग ।’ राजा बलीले भने, ‘सधैँ मेरो सुतललोकमा बस्नुहोस् ।’ भगवानले बलीलाई दिएको यही वरदानका कारण नै आषाढ शुक्ल एकादशी अर्थात् यसै दिनदेखि बलीको ढोकामा बस्न थाल्नुभयो । लक्ष्मीले गई बली राजासँग विष्णुलाई मुक्त गर्न अनुरोध गर्नुभयो । त्यसपछि ब्रह्मा, विष्णु र महादेव तीन देवता नै प्रत्येक वर्ष राजा बलीको ढोकामा ४/४ महिना बस्न थाल्नुभयो । हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म भगवान विष्णु, त्यसपछि शिवरात्रीसम्म भगवान शिव र शिवरात्रीदेखि हरिशयनी एकादशीसम्म ब्रह्माजी सुतल लोकमा गएर बस्ने गर्नुहुन्छ ।

हरिशयनी एकादशीको माहात्म्यका अनुसार चक्रवर्ती सम्राट् राजा मान्धाताको प्रसंग आउँछ । अत्यन्त राम्रोसँग राज्य सञ्चालन गरेका धार्मिक राजा मान्धातको राज्यमा एकपटक ठूलो अनिकाल पर्यो । उनको राज्यमा तीन वर्षसम्म खडेरी पर्यो, वर्षा भएन, पानि बिना राज्यमा हाहाकार भयो । कसैले पनि अन्न उत्पादन गर्न पाएनन्, यज्ञहरु पनि भएनन् । एकदिन सबै प्रजाहरु मिली राजालाई गएर भने, ‘खडेरीले हामी मर्ने भयौं, हाम्रो रक्षा गर्नुहोस् ’। कसरी यो समस्या समाधान गर्न सकिन्छ भनेर राजा चिन्तित भए ।

सैनिकहरुलाई साथ लिइ ऋषिहरुको खोजीमा हिँडेका राजाले कुनै जंगलमा अङ्गिरा ऋषिलाई भेट्नुभयो । ऋषिको सल्लाह अनुसार नै राजा मान्धाताले पनि आषाढ शुक्ल पक्षमा पर्ने देवशयनी एकादशी व्रत विधिविधान पूर्वक गर्नुभयो ।

राजा तथा प्रजा सबैको पुण्यको प्रतापले गर्दा राज्यमा वर्षा भयो र सबै प्राणीहरुले आनन्दको अनुभूति गर्न पाए । यस्तै बिभिन्न विशेषताहरुका कारण यस एकादशीलाई विशेष दिन मान्ने गरिन्छ ।

यस दिन जेठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका बिजारोपण गरि उमारिएको तुलसीलाई तुलसीको मठ एवं उचित ठाउँमा सार्ने गरिन्छ । तुलसीको धार्मिक र सांस्कृतिकका साथै बैज्ञानिक आयुर्वेदिक महत्त्व पनि उत्तिकै रहेको । हाम्रा आयुर्वैदिक ग्रन्थहरूमा तुलसीबाट गर्न सकिने उपचारहरूको बारेमा निकै महत्त्वको रूपले उल्लेख गरिएको पाइन्छ । धन्वन्तरि, सुश्रुत, चरक आदि महान् आयुर्वेदका ज्ञाताहरूले तुलसीलाई बहुपयोगी औषधीको रूपमा उल्लेख गरेका छन्। तुलसीको रस सौन्दर्यवर्धक हुन्छ ।

तुलसीको पात,डाठ र फुलको रस ले रुघाखोकी, औलो ,स्वासप्रस्वास छाला सम्बन्धि चर्मरोग, लुतो ,दाद आदिको औषधि हुन्छ ।तुलसी को रस राती शरीरमा लगाएर सुतेमा लाङखुट्टेले टोक्दैन । तुलसीको नजिक सर्पले बास गर्दैन । तुलसीको हावले बिषालु किटाणुको नास गर्दछ। अनि वातावरण पनि शुद्ध हुन्छ ।

नियमित तुलसीपत्र सेवनले स्मरण शक्ति बढ्दछ । चिकित्सकहरूकाअनुसार तुलसीमा धेरै रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा वान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी उत्तम पित्तनाशक, कफनाशक, विषहर, वीर्यवर्धक, स्मृतिवर्धक औषधी हो ।

मुखगन्ध, गर्भरोग, कर्ण, दन्त, मूत्ररोग, श्वासरोग, रक्तरोग, मुर्छालगायत सयौं रोगको लागि पनि अत्यन्त सरल किसिमबाट प्राप्त हुने तुलसीबाट गर्न सकिन्छ। आधुनिक विज्ञानले पनि अत्यधिक अक्सिजन फ्याँक्ने र अत्याधिक मात्रामै विद्युत् शक्ति भएको विरुवा भन्ने पत्ता लगाएको छ । तुलसीको मठ रहेको चारैतिरको हावा शुद्ध एवं स्वास्थ्यवर्धक हुने विज्ञानले पत्ता लगाएको छ । साथै तुलसीको विरुवाबाट निस्कने ग्यासका कारण आँखाले नदेखिने विषालु किटाणु समेत नस्ट हुने तथ्य विज्ञानले प्रमाणित गरेको छ ।

तसर्थ तुलसीको हरेक दृस्ठिकोणबाट निकै महत्व रहेको स्पष्ट हुन्छ । इति ।
( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )