सुदूरपश्चिमका नौ जिल्लामा ४४ दशमलव ४१ प्रतिशत रोपाइँ

बुलेटिन संवाददाता
२५ असार २०७६, बुधबार ११:२५

२५ असार, धनगढी । सुदूरपश्चिमका नौ जिल्लामा ४४ दशमलव ४१ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो प्रदेशमा यही ८० दशमलव ४५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । यो प्रदेशको सबैभन्दा बढी धान फल्ने जिल्ला कैलालीमा यो वर्ष ४० प्रतिशत मात्रै धान रोपिएको छ ।

जबकि यो अवधिमा गत वर्ष ९५ प्रतिशत धान रोपाइँ सकिएको थियो । बाली विकास महाशाखाका निर्देशक सवनम सिवाकोटीले मनसुन भर्खर सक्रिय भएकाले तराई क्षेत्रमा अझै पनि रोपाइँ गर्न सकिने भए पनि विगत वर्षको तुलानमा क्षेत्रफल र उत्पादन दुवै घट्ने बताइन् । ‘नेपालको ७० प्रतिशत धान फल्ने क्षेत्र तराई हो । त्यही तराई क्षेत्रमा धान रोपाइँ कम भएकाले उत्पादन घट्ने निश्चित छ’, सिवाकोटीको भनाइ छ ।

सुदूरपश्चिममा मात्रै नभई नेपालमा मनसुन सक्रिय हुन ढिलो हुनु र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण यस वर्ष अहिलेसम्मको अवधिमा देशभर अत्यन्त कम मात्रै धान रोपाइँ भएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म एक चौथाइ क्षेत्रफलमा पनि रोपाइँ हुन सकेको छैन । रोपाइँ थोरै भएपछि उत्पादन घट्ने निश्चित भएको छ ।

‘धेरैजसो स्थानमा आकाशे पानीमा भर पर्नुपर्ने भएकाले सोचेअनुसार असार तेस्रो सातासम्म पनि धान रोपाइँ हुन सकेन’, बाली विकास महाशाखाका निर्देशक सवनम सिवाकोटीले भनिन ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २२ गतेसम्म नेपालमा औसत २३ दशमलव ७६ प्रतिशत धानखेतमा मात्रै धान रोपाइँ भएको छ ।

गत वर्ष यही अवधिमा ५२ दशमलव ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको तुलनामा यो वर्ष यो अवधिमा झण्डै ३० प्रतिशतले कम धान रोपाइँ भएको हो ।