धनगढीमा अवरुद्ध विद्युत् सुचारु गर्न ढिलाइ भएको भन्दै स्थानीय आन्दोलित

बुलेटिन संवाददाता
३० जेष्ठ २०७६, बिहीबार १३:३०

३० जेठ, धनगढी । गत बिहिबारको हावाहुरीले अवरुद्ध विद्युत् सुचारु गर्न ढिलाइ भएको भन्दै धनगढीका स्थानीय आन्दोलित बनेका छन् ।

विद्युत् अवरुद्ध भएको १ साता बित्दा पनि सरोकारवाला पक्षले चासो नदिएको भन्दै धनगढी उपमहानगरपालिका २ का स्थानीयले बिहीबार वडा कार्यालय घेराउ र नेपाल विद्युत् प्राधिकरण धनगढी शाखामा धर्ना दिएका छन् ।

जेठको उखरमाउलो गर्मीमा विद्युत् नहुँदा निकै सास्ती भएको धनगढी २ उत्तरवेहडीकी कला कुँवरले बताइन । धनगढी उपमहानगरपालिकाका अन्य स्थानमा बिजुली पुगे पनि वडा नम्बर २ मा भने ढलेका पोल सम्म नउठाइएको स्थानीयहरू बताउँछन् ।

स्थानीयहरू एकजुट भई पोल उठाएको एक साता बित्दा पनि विद्युत् प्रवाह नभएको स्थानीय भगवती शर्माले बताइन । अवरुद्ध विद्युत् सुचारुको लागी जनप्रतिनीहरुले कुनै पहल नगरेको भन्दै स्थानीयहरूले वडा कार्यालय घेराउ गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण धनगढीशाखाले पनि चरम लापरबाही गरेको स्थानीयको आरोप छ । तर वडाका जनप्रतिनिधिहरू भने पटक–पटक प्राधिकरण धाउँदा पनि सुनुवाइ भएको बताउँछन् ।

वडा नम्बर २ की वडा सदस्य रत्ना विष्टले विद्युत् प्रवाह नहुँदा स्थानीय आन्दोलित हुनु स्वाभाविक भएको बताउछिन । पटक–पटक प्राधिकरण धाउँदा पनि कुनै सुनुवाइ नभएको उनको भनाई छ । प्राधिकरणले जनशक्ति थप गरेर भए पनि छिटो छरितो सेवा प्रदान गर्नुपर्ने उनले बताइन ।

तर नेपाल विद्युत् प्राधिकरण भने जनशक्ति कम भएकाले सेवा प्रवाहमा ढिलाइ भएको भन्दै पन्छिने गरेको छ । धनगढी उपमहानगरपालिकामा मात्रै ५ सय बढी नयाँ पोल जडान गरिसकेको प्राधिकरणको जनाइएको छ ।

तदारुकताका साथ काम गरिरहेकाले केही दिनभित्रै धनगढीका सम्पूर्ण क्षेत्रमा बिजुली सुचारु हुने कार्यालयका सहायक इन्जिनियर गोपाल चन्दको दाबी छ ।

गत बिहीबार रातीको हावाहुरीले अवरुद्ध विद्युत् धनगढीका विभिन्न स्थानमा सुचारु भए पनि वडा नम्बर २ लगायतका कतिपय स्थानमा भने ढलेका पोल सम्म सडकबाट उठाइएको छैन ।

जेठको टनटलापुर गर्मीको समयमा बिजुली नहुँदा दैनिकी नै प्रभावित बनेको भन्दै स्थानीयहरूले चाँडो भन्दा चाँडो विद्युत् सुचारु गरिनु पर्ने माग गरेका छन् ।