नेपालमै पहिलो पटक पशुपंक्षीको उद्धारका लागि चितवनमा वन्यजन्तु एम्बुलेन्स ल्याइयो

बुलेटिन संवाददाता
२९ जेष्ठ २०७६, बुधबार ०९:४५

२९ जेठ, चितवन । वन क्षेत्रमा घाइते तथा बिरामी भएका पशुपंक्षीको उद्धारका लागि नेपालमा नै पहिलो पटक वन्यजन्तु एम्बुलेन्स ल्याइएको छ ।

नेपाल सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु एम्बुलेन्स ल्याएको हो ।
निकुञ्ज तथा वन क्षेत्रका उपचार गर्नुपर्ने अवस्थामा रहेका वन्यजन्तुको उद्धार गर्नका लागि प्रयोग हुने एम्बुलेन्स २५ लाख रुपैयाँको लागतमा ल्याइएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका निमित्त प्रमुख रामकुमार अर्यालले बताए ।

आवश्यकताअनुसार चिकित्सक तथा अक्सिजनसहितको एम्बुलेन्सले घाइते वन्यजन्तुलाई उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जमा निर्माण गरिएको वन्यजन्तु अस्पतालमा ल्याउने अर्यालको भनाइ छ । ‘हामीले आवश्यकताअनुसार अक्सिजन राख्ने गरेका छौँ’ अर्यालले भने, –‘वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स लिएर जाँदा अक्सिजन चाहिने अवस्थामा भए लिएर जान्छौँ, त्यसपछि जनावरको आकारअनुसारको केज समेत छ त्यो पनि लिएर जान्छौँ ।’

वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स लिएर जाँदा आवश्यकता हेरेर उद्धारका सामग्री सहित एम्बुलेन्स लगिने अर्यालले जानकारी दिए । ‘नेपाल सरकारको भन्सार छुटमा प्राप्त भएको एम्बुलेन्सको उद्धेश्य भनेको चाहिँ वन्यजन्तुहरुलाई आकस्मिक उद्धार गर्नु हो’ अर्यालले भने, –‘यसभन्दा अगाडि नेपालका वनजंगलबाट यसरी एम्बुलेन्सले जंगली जनावरको उद्धार गर्ने थिएन, सदर चिडियाखानामा भएको एम्बुलेन्स बाहिर प्रयोग हुँदैन ।’ एम्बुलेन्स खरिदका लागि प्रकृति संरक्षण कोषबाट पैसा आएपनि सरकारको भन्सार छुटसहित सबै सुविधा प्राप्त भएको अर्यालले बताए ।

यो वन्यजन्तु अस्पतालले तराईका सबै जिल्लाहरुमा सेवा पु¥याउने अर्यालको भनाइ छ । ‘कोशी, बर्दियासम्म यो एम्बुलेन्स जाने गरेको छ’ अर्यालले भने, -‘जंगली जनावरको लागि चाहीँ यो एम्बुलेन्स देशमै पहिलो हो, यसको एकदमै आवश्यकता थियो ।’
जंगली जनावरहरु बिभिन्न कारणले घाइते तथा बिरामी पर्ने भएकाले उनीहरुको आकस्मिक उद्धार गर्नका लागि एम्बुलेन्स आवश्यक रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटले बताए ।

‘एम्बुलेन्स नभएको अवस्थामा हामीले विभिन्न ठाउँबाट रेस्क्यु गर्नुपर्ने खालका घटनाहरु हुँदाखेरि तुरुन्त हामीले सवारी साधन पु¥याउन नसक्ने अवस्था हुन्थ्यो’ रानाभाटले भने, –‘अहिले एम्बुलेन्स आइसकेपछि कहीँबाट फोन आएपछि हामीले तुरुन्त घटनास्थलमा पठाउन सहज पनि भएको छ ।

चितवनमा आएको वन्यजन्तु एम्बुलेन्स सुरक्षित साधनको रुपमा सहज तरिकाले प्रयोगमा आइरहेको रानाभाटको भनाइ छ । ‘कुनै ठाउँमा घटनाहरु हुँदा हामीले तुरुन्त एम्बुलेन्स पठाएर उद्धार गर्ने अवस्था छ’ रानाभाटले भने, -‘कहीँ कतै कुनै जंगली जनावर बिरामी हुँदा समेत हाम्रो भेट टिमले यही एम्बुलेन्स प्रयोग गर्छ ।’ संरक्षित क्षेत्रमा मात्रै नभएर वन क्षेत्रका सबै ठाउँमा एम्बुलेन्समा गएर जंगली जनावरको उपचारमा एम्बुलेन्सको प्रयोग भइरहेको रानाभाटले बताए ।

विभिन्न कारणले घाइते तथा बिरामी भएका वन्यजन्तुहरुको उपचार अभावमा अकालमा नै मृत्यु हुने गरेको थियो । चितवनमा वन्यजन्तु एम्बुलेन्स आएपछि घाइते वन्यजन्तुहरुको उपचार र संरक्षणमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।