पाल्पामा रोकिएन बाँदर आतंक

बुलेटिन संवाददाता
२८ जेष्ठ २०७६, मंगलवार १५:४८

पाल्पा, २८ जेठ
बाँदर आतंकका कारणले पाल्पाका ग्रामिण क्षेत्रका किसानले सास्ती बेहोर्न थालेका छन् । जंगलमा बस्ने, खाने बाँदरले जंगलमा आहारा पाउन छाडेपछि गाउँपसेर दुःख दिन थालेको ग्रामिण क्षेका स्थानीयले बताउँछन् । यसैबीच मंगलबार साँझ तानसेन नगरपालिका–१३ छेर्लुङ्गमा बाँदरले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । बाँदरको आक्रमणबाट ३१ वर्षीय कमला खरेल पाण्डेको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । खेतमा लगाएको मकै बाली कुर्न बस्दा दुई सयको संख्यामा बाँदर आएपछि खेदाउन लाग्दा २ वटा बाँदरले आक्रमण गरी घाईते बनाएको ता.न.पा.१३ राधाकृष्ण टोलविकास समितिका अध्यक्ष खड्ग बहादुर केसीले जानकारी दिए ।

‘खेतमा मकै रुँग्दै गरेकी महिलालाई दुई वटा बाँदरले आक्रमण गरी दुवै खुट्टामा गहिरो चोट लागेको छ ।’ केसीले भने–‘अहिले स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको छ, भोलि सवेरै घाइते महिलालाई उपचारको लागि सदरमुकाम लैजाने छौं ।’ उनले आफूहरूले लगाएको कृषिबाली बाँदरले खाएर थन्काउन नदिने, लखेट्न जाँदा लडेर घाइते हुने वा आक्रमण गर्ने डरले आफूहरू बाँदरबाट त्रसित हुनुपरेको बताए । ‘बाली लगायो पाक्नै पाउँदैन, नलगाए घरभित्रै पसेर पनि लगिदिन्छ ।’ उनले दुःखेसो पोखे ।

बाँदरले जिल्लाका ग्रामिण वस्तीमा दुःख दिन थालेपछि बगनासकाली गाउँपालिकाले बजेट विनियोजन गरी नियन्त्रण समिति बनाएर कार्यक्रम अगाडि बढाए नियन्त्रण र निगरानी हुन सकेको छैन । जिल्लाको बगनासकाली गाउँपालिका–९ मा पनि गत वर्ष बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी थिइन । बाँदर पीडित वस्तीमा बाँदरले मन नपराउने प्रकृतिका बाली लगाएर त्यहाँको समस्या हल गर्ने सकिने तर्क बाँदर नियन्त्रण समिति पदाधिकारीले बताउँदै आएपनि त्यसको कडाइका साथ कार्यान्वन हुन सकेको छैन ।