कोरियामा उपचारका क्रममा एक नेपालीको मृत्यु, पछिल्लो १५ दिनमा ३ नेपालीले ज्यान गुमाए

बुलेटिन संवाददाता
२७ जेष्ठ २०७६, सोमबार ११:३९

बुलेटिन संवाददाता
२७ जेठ, सउल । कोरियामा ६ महिनादेखि उपचाररत एक नेपालीको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वत फलेवास ५ खानीगाउँ घर भई तीन वर्षदेखि कोरियामा कार्यरत अमृत कुँवर रहेको सौल स्थित नेपाली दुतावासले जनाएको छ ।

६ महिना अघि कम्पनिमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सउल स्थित हान्नीम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो ।

कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो । घटनाका विषयमा मृतकको परिवारलाई जानकारी गराईसकिएको कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए । मृतकको श्रीमती कोरियामै रहेकाले प्रक्रिया पूर्याएर शव नेपाल पठाईने दुतावासले जनाएको छ ।

कुँवर ईपियस मार्फत ३ वर्ष अघि कोरिया आएको बुझिएको छ । यो घटनासँगै कोरियामा पछिल्लो १५ दिनमा ३ नेपालीले ज्यान गुमाएका छन् ।