जंगली च्याउ खाँदा पाल्पामा १ को ज्यान गयो , अन्य ९ सिकिस्त बिरामी

बुलेटिन संवाददाता
२६ जेष्ठ २०७६, आईतवार ०४:२४

२६ जेठ, पाल्पा । पाल्पामा विषाक्त जंगली च्याउ खाँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का ९ वर्षीया निर्मला सिंह ठकुरी रहेका छन् । जिल्ला प्रहरी पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले दिएको जानकारी अनुसार सोही ठाउँका ४ वर्षीय विष्णु सिंह गम्भीर बिरामी भएका छन् ।

‘एक जनाको मृत्यु भएको छ र अर्का एक जनाको आइसियुमा छन् ।’ सापकोटाले टेलिफोन सम्पर्कमा जानकारी दिए । च्याउ सेवनबाट अन्य ९ जना गम्भीर बिरामी परेको उनले बताए ।

विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, उहाँकी श्रीमति ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानकुमारी सिं, ७ वर्षीय सुमन सिं, सोही ठाउँकी धनकुमारी सिं, निसा सिं ठकुरी र निरुता सिं रहेका छन् । बिरामी सबैको नवलपुरको डण्डा स्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रनाउ सापकोटाले बताए ।

उनीहरुले शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए । शनिबार अपरान्हदेखि विरामी परेका उनीहरुलाई बान्ता हुने, बेहोस हुने भएको थियो भने अत्तालिने समेत गरेका थिए ।