“हिजो छक्का भन्नेलाई छक्क पारेर काम गर्नु छ”

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार १४:१२

निरा गौतम
रासस
२४ जेठ, रुपन्देही । रुपन्देहीको देबदहमा जन्मिएका ३२ वर्षिय रेशम न्यौपानेलाई तेस्रो लिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए ।

उनले आफुलाइ त्यसो नगर्न विन्ति गरे तर बुवा आमाले मानेनन् । आफुमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए । परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन ।

तेस्रो लिङ्गी भएकै कारण समाजले उनको अस्तित्व स्विकार गरेन । कैयौपटक आत्महत्याको असफल प्रयास गरे । जिविका चलाउन बुटवलका गल्लीहरु धेरै चाहारे तर भनेजस्ते काम नपाएपछि रेशम काठमाण्डौ गए । “केटाको शरिरमा केटीको भावना बोकेर हिड्न मेरा लागि युद्ध जित्नु बराबर थियो मैले त्यो शब्दमा बयान गर्न सक्दिन तर मलाई परिवार र समाजले कहिल्यै बुझेन” उनले दुखेसो पोखे । उनलाई तेस्रो लिङ्गी भएकै कारण काठमाण्डौमा पनि सबैले छिःछि र दुरदुर गरे । केही सिप नलागेपछि उनले ठमेलमा देह व्यापार शुरु गरे ।

मनोरञ्जनको दुनियाँमा रेश्मा डार्लीङ्गको नामबाट उनले चर्चा बटुले । “मलाई राती ढिलो हुदा पीर गर्ने कोही थिएन, नत कस्तो छ भनेर सोध्ने कोहि थियो, जन्मदिने बुवा आमालाई त वास्ता भएन अरुले के भन्लान भनेर कहिल्यै सोेचिन” रेशमले भने । नृत्यमा विशेष दख्खल राख्ने रेशमले विस्तारै देहव्यापार छोडेर नृत्य निर्देशकको रुपमा काम शुरु गरे । उनि नेपालको पहिलो तेस्रो लिङ्गी नृत्य निर्देशक हुन । उनी अहिले आफनो पेशा र सामाजिक क्षेत्रमा क्रियाशिल छन् । “हिजो छक्का भन्नेलाई छक्क पारेर काम गर्नु छ” रेशम भन्छन् ।

पाल्पाको तानसेनमा जन्मिएकी ३० वर्षीया अवान्तिका घर्ती मगरले तेस्रो लिङ्गी भएकै कारण शारिरिक, मानसिक र सामाजिक हिंसा सहिन । तेस्रो लिङ्गि भएकै कारण सानै उमेरमा परिवारले घरबाट निकालिदिएपछि विचल्लिमा परेकी उनको भोगाइ दर्दनाक छ । “विद्यालय उमेरबाटै विभिन्न उपनामले गिज्याए , मानसिकरुपमा विक्षिप्त भएका बेला तानसेनमा म जस्तै अरु साथी भेटें” उनि भन्छिन् । अहिले ब्लु डाइमण्ड सोसाइटिमा आवद्ध भएर उनले यौनिक तथा अल्पसंख्यकहरुको अधिकारका लागि आवाज उठाउदै आएकी छन् ।

अर्घाखाँचीका १७ वर्षीय शिशिर भट्टराईको भोगाइ पनि सुखद छैन । बिद्यालयमा पढ्दा पढ्दै अन्तरलिङ्गि भएको थाहा पाएपछि बुवा आमाले अनेक यातना दिए । “विद्यालयमा साथिभाइसंग बस्न समेत दिइएन नत विरामी हुदा उपचार पाएं, एउटै कोखबाट जन्मिएपनि भाइ बहिनी र ममा ठुलो विभेद गरियो” – शिशिर आँशु झार्दै दुःख पोख्छन् । अन्ततः बुवा आमाले कुटपिट गरी घरबाट निकालिदिएपछि उनि अहिले बुटवलमा छन् । अन्तरलिङ्गि भएर जन्मिएर मैले के अपराध गरें ? जसका कारण मलाइ परिवार र समाजले स्वीकार गरेन –शिशिर प्रश्न गर्छन ।

रेशम, अवान्तिका र शिशिर मात्र होइन अधिकांश यौनिक तथा अल्पसंख्यकहरुको पिडा एउटै छ, परिवार र समाजले स्वीकार नगर्नु । “हाम्रो पहिचान स्वीकार गरिएको छैन, अझैपनि विभिन्न उपनाम दिएर जिस्काउँछन्” – निल हिरा समाजका अध्यक्ष आनिक राना भन्छिन् ।

सरकारी निकाय, संघ संस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जादा पनि महिला, पुरुष मात्रै उल्लेख हुन्छ तर हामी कहाँ जाने ? उनको प्रश्न छ ।

रानाका अनुसार रुपन्देही जिल्लामा करिब ९ हजार यौनिक तथा अल्पसंख्यकहरु छन् । तेस्रो लिङ्गी भएकै कारण परिवार र समाजले हेला गर्नेमात्र होइन सम्पत्तिबाट समेत बेदखल हुनुपरेको उनिहरुको गुनासो छ ।

हुन त देशको संबिधानमा हरेक व्यक्तिले सम्मानजनक जीवन जिउन पाउने अधिकार उल्लेख छ तर व्यवहारिक कार्यान्वयन छैन । “मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाई शुरु हुन्छ ।

शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट बञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ ।” राष्ट्रिय मानव अधिकार आयोगका ५ नं प्रदेश कार्यालय निर्देशक सम्झना शर्मा भन्छिन् ।