युवाहरूलाई उद्यमी बन्न आग्रह

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार ०८:१७

पाल्पा २३ जेठ
‘मुलुकको सम्वृद्धिका लागि युवा शक्ति परिचालन आवश्यक छ, उद्यमी युवाहरूबाट नै देशको परिवर्तन सम्भव छ’ विहिबार तानसेन युवा परिषद्को युवा सभालाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले भने, ‘युवाहरू शक्तिको श्रोत र परिवर्तनको संवाहक हुन्, युवाहरूलाई ठिक ठाउँमा लगाए परिवर्तन हुन्छ र गलत ठाउँमा युवाहरू परिचालन भए भने विध्वस हुन्छ ।’ नगरप्रमुख शाहीले समाजका हरेक सकारात्मक क्रियाकलापमा अवसरको दृष्टिकोण राखेर समाज परिवर्तनका लागि उद्यमी बन्दै नमूना योग्य काम गर्न युवाहरूलाई आग्रह गरे ।

शाहीले राज्यको हरेक परिवर्तनमा युवाहरूको भूमिका रहने भएकाले युवाहरूका क्रियाकलाप शिक्षा र सीपसँग जोडिनु आवश्यक रहेको जनाए । नरपालिकाको युवा परिषद्को आयोजनामा जेठ २३ र २४ गते चल्ने युवा सभा तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सभामा बोल्दै उपप्रमुख लक्ष्मीदेवी पाठकले प्रशिक्षणले युवाहरूलाई उद्यमी बन्न उत्साहित गर्ने बताइन । उनले युवाहरूलाई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएकाले स्वरोजगार र स्वावलम्बी बन्न युवाहरू उद्यमसँग जोडिनुपर्ने औंल्याइन ।

नगर कार्यपालिका सदस्य दिपक विश्वकर्माले नगरको विकाससँग युवाहरूलाई साझेदार बनाउने उद्देश्यले युवा परिषद् गठन गरिएको भन्दै नगरको भौतिक, सांस्कृतिक, सामाजिक विकासका युवाहरू परिचालन गर्न प्रशिक्षणले टेवा दिने विश्वास दिलाए । ‘तानसेन युवा मैत्री नगर बन्न चाहन्छ’ उनले भने, ‘चालु आर्थिक वर्षमा प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम मार्फत १५३ जना युवालाई रोजगारी दिइनेछ ।’

कार्यक्रममा बोल्दै नेविसंघ केन्द्रीय सदस्य हरिबोल भट्टराई, कृषि उद्यमी युवा रुकवीर रेश्मी, खेलकुद विकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्ले, दायित्वका कार्यक्रम संयोजक सुर्यप्रकाश रिजाल, युवा परिषद् पाल्पाका अध्यक्ष रामजी पौडेल लगायतका युवा क्षेत्रमा कार्यरत संस्थाका पदाधिकारीले सवै युवा उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । उनीहरूले युवाहरूलाई स्वदेशमै श्रमसँग जोड्न, कृषि उत्पादनमा आकर्षण गर्ने नीति तथा कार्यक्रम परिचालन, युवाहरूको सीप विकास, क्षमता विकास गर्दै क्षमता अनुसार लगानी सुरक्षित गर्ने वातावरण राज्यले बनाउन सकेमा युवाहरूले आफू उद्यमी भएकोमा गौरव गर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा युवाका क्षेत्रमा कार्यरत दुई दर्जन बढी विभिन्न संघसंस्थाका पदाधिकारी सहभागी छन् । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का केन्द्रीय अध्यक्ष माधव ढुङ्गेल लगायतले प्रशिक्षण दिएका छन् । तालिम शुक्रबार सम्म चल्ने तानसेन युवा परिषद्का अध्यक्ष गुँरास आत्रेयले जानकारी दिए । उद्घाटन सत्रको सञ्चालन तानसेन युवा परिषद्का सचिव धनेन्द्र घिमिरेले गरेका थिए ।