उपत्यकाका नदी खोला कोरिडोरबाट ट्राफिक व्यवस्थापनमा सहज, करिडोर क्षेत्रमा प्रदुषण बढ्दै गएकोमा चिन्ता

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार ०६:१८

२४ जेठ, काठमाडौ। उपत्यकाको सवारी चापको नियन्त्रण र नदीखोला आसपासको जग्गा संरक्षण एवम् सौन्दर्य वृद्धिको लक्ष्यसहित २०३३ सालमा करिडोर निर्माणको योजना भएको हो ।

गोकर्ण दोभानदेखि बल्खुसम्म २५ किलोमिटर लामो वाग्मती करिडोर निर्माण तीन चरणमा गरिएको थियो । ४३ वर्ष बितिसक्दा पनि करिडोर निर्माण योजनाको दोस्रो र तेस्रो चरणको काम अझै सम्पन्न हुन सकेको छैन । सम्पन्न भएको केही करिडोर क्षेत्रमा भने सवारी चाप बढ्न थालेका कारण ट्राफिक दुर्घटनाहरुको सम्भावना बढ्दै गएको आमनागरिकले बताएका छन् ।

पहिलो चरणअन्तर्गत सुन्दरीजलदेखि गोकर्णसम्म आठ किलोमिटर, दोस्रो चरणमा गोकर्णदेखि पशुपतिसम्म तीन किलोमिटर र तेस्रो चरणअन्तर्गत तिलगंगादेखि बल्खुसम्म १४ किलोमिटरको क्षेत्रफलमा नदीखोला वरपर करिडोर निर्माण कार्य अगाडी बढीरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ ।

नापीको नक्सा अनुसार काठमाडौं उपत्यकामा बग्ने प्रमुख नदीखोलाको डिलबाट दाया–बाया बीस मिटर छोडेर मात्रै निर्माण गर्न पाउने नेपाल सरकारको भवन निर्माणको मापदण्ड छ । नदीखोलाको खाली रहेको यीनै क्षेत्रफलमा करिडोर निर्माणको काम भईरहेको प्राधिकारणले जनाएको छ । अहिले करिडोर निर्माणको काम केही सम्पन्न भईसकेको र केही भर्खर सुरु भईरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणमार्फत धोवीखोला करिडोर सुधार आयोजना निर्माणको काम भईरहेको छ भने बाग्मती, विष्णुमती र मनोहरा लगायतका अन्य सबै नदीखोला क्षेत्रको करिडोर निर्माण तथा व्यवस्थापनको काम अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितीमार्फत भईरहेको छ ।

करिडोर क्षेत्रमा सवारी आवतजावत भएपछि मूल सडकलाई पर्ने चापमा केही राहत पुगेको छ । करिडोर निर्माण कार्य सराहनिय भन्दै आम नागरिकले पनि सरकारको यस कामप्रति सन्तुष्टि जनाएका छन् ।  करिडोर निर्माणलाई थप वैज्ञानिक र व्यवस्थित गर्नु पर्ने पनि केहीले बताएका छन् । सडकमा भएको खाल्डाखुल्डी भएको र कतिपय ठाउँमा भने आवतजावतमा समस्या आईरहेको प्रति भने कहीले गुनासो गरेका छन् ।

नदीखोला वरपर निर्माण भईरहेको करिडोर क्षेत्रमा प्रदुषणको समस्या भने बढ्दो छ । ढल र फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा यस क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी र पैदल यात्रीहरु बढी मारमा परिरहेका छन् ।

करिडोर क्षेत्रमा सवारी साधनहरु पहिले भन्दा धेरै गुड्न थालेसँगै छिटफुट रुपमा दुर्घटना समेत भईसकेको छ । ट्राफिक प्रहरी व्यवस्थापनले करिडोर क्षेत्रलाई पनि विशेष ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।