पहिरोका कारण देशकै लाइफलाइन पृथ्वी राजमार्ग अवरुद्ध

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार ०३:५८

२४ जेठ, चितवन । देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्गको सवारी आवागमन पहिरोका कारण अवरुद्ध भएको छ ।

राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खसेपछि आज बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो ।

बिहानै खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको चितवन प्रहरीले जनाएको छ । लामो समयदेखि सवारी पास हुन नसकेपछि अहिले राजमार्गमा सवारीको लामो लाइन बनेको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो खसेकाले सडक पूर्ववत सञ्चालनमा आउन समय लाग्ने प्रहरी भनाइ छ ।