भिषण हावाहुरीका कारण कैलालीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, ७० भन्दा बढि घाईते

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार ०३:४८

आवश्यक उपकरण र प्रविधिको अभावमा पूर्वानुमान हुन सकेन

२४ जेठ, कैलाली । कैलालीमा हावाहुरीमा परेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् ।

बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको थियो भने त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

यसैगरी हावाहुरीका कारण ठाउँ ठाउँमा रुख ढलेका छन् भने बिजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

रुख तथा बिजुलीका पोल ढल्दा कतिपय ठाउँमा सवारीसाधन आवागमनमा पनि प्रभावित बनेको छ । कतिपय ठाउँमा बिजुलीको पोल र ढलेका रुख हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भैरहेको छ ।

आवश्यक उपकरण र प्रविधिको अभावमा पूर्वानुमान हुन सकेन

आवश्यक उपकरण र प्रविधिको अभावका कारण बिहीबार बेलुकी आएको विनाशकारी हावाहुरीबारे समयमै जानकारी दिन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभाव र हावाहुरीबारे जानकारी दिन सक्ने प्रणालीको अभावका कारण पूर्वानुमान महाशाखाले समयमा सचेत गराउन नसकेको मौसमविद्हरु बताउँछन् ।

‘सामान्यतया धेरै दिनदेखि पानी नपरेका कारण कैलाली कञ्चनपुरको तापक्रम बढ्दै गइरहेको थियो स्थानीय वायुको प्रभावले त्यहाँ ‘क्युमोलोनिम्बस’ बादलको निर्माण भैरहेको थियो, यसैमा भारतको उत्तराखण्ड क्षेत्रमा विकसित भएको जलवाष्पयुक्त हावाको प्रभाव मिसिएर हावाहुरीसहित वर्षा भएको हो’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने ‘सामान्य हावाहुरीको पूर्वानुमान भए पनि स्थानीय वायुको प्रभावले एक्कासी ठूलो हावाहुरी चल्छ भन्ने पूर्वानुमान हुन सकेन ।’

एकाबिहानै हावाहुरीसहिआवश्यक उपकरण र प्रविधिको अभावमा पूर्वानुमान हुन सकेनत वर्षा भए पनि अहिले काठमाण्डौ र आसपासमा घाम लागेको छ ।

कति थियो वायुको गति ?

कञ्चनपुर र कैलालीमा आएको वायुको गति कति थियो भन्ने यकिन तथ्यांक छैन । मौसमविद् पौडेलले भने ‘त्यतिबेला ४०–४५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको अनुमान गर्न सकिन्छ ।’