अब देखि राउटे हेर्न पनि कर लाग्ने

बुलेटिन संवाददाता
२३ जेष्ठ २०७६, बिहीबार १३:११

२३ जेठ, दैलेख । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने आदिवासी  राउटे समुदायको अवलोकनका लागि दैलेखको एक गाउँपालिकाले कर निर्धारण गरेको छ ।

दैलेखको गुराँस गाउँपालिकाले राउटे हेर्नका लागि कर निर्धारण गरेको जनाएको छ । सुर्खेतसँग सीमा जोडिएको दैलेखको गुराँस गाउँपालिकाले राउटेको बस्ती अवलोकनका लागि टिकटको व्यवस्था गर्न लागेको जनाएको छ ।

राउटे बस्ती हेर्न धेरै आन्तरिक पर्यटक आउन थालेपछि आफूहरूले टिकटको व्यवस्था गरेको गुराँस गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्रकुमार महतराले जानकारी दिए । गाउँपालिकाले करकै रुपमा टिकटको व्यवस्था गर्न लागेको हो । त्यसबाट भएको आम्दानी भने राउटेकै हितमा प्रयोग गरिने वडाध्यक्ष महतराले  बताए ।
गाउँपालिका अध्यक्ष खेमराज ओलीले राउटे समुदायलाई खुल्ला राख्दा उनीहरूको पहिचान र संस्कृति नै लोप हुन थालेपछि आफूहरूले टिकटको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले भने ‘हामीले उनीहरूकै हितका लागि टिकटको व्यवस्था गर्न लागेका हौँ । २६ गते बस्ने कार्यपालिका बैठकबाट यो निर्णय पारित भएपछि लागु हुन्छ ।’

गाउँपालिकाले टिकटबाट सङ्कलन गरिएको रकमबाट दुई जना गार्ड राख्ने तयारी गरेको छ । ओलीले भने ‘राउटे समुदाय भनेको पर्यटकीय हिसाबले आकर्षणको केन्द्र हो । त्यसैले फरक संस्कृति भएको यो समुदायको हितकै लागि हामीले टिकट काट्ने व्यवस्था गरेका हौ ।’

पर्यटकले पैसा दिन थालेपछि राउटेले आफ्नो संस्कृति बिर्सिन थालेको उनको तर्क छ । परम्परागत पेसा समेत उनीहरूले छाडेपछि गाउँपालिकाले राउटेकै सल्लाहमा यस्तो गरेको दाबी गरेको छ ।