मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न राष्ट्रपति भण्डारीको आग्रह

बुलेटिन संवाददाता
२३ जेष्ठ २०७६, बिहीबार ०८:४४

२३ जेठ, नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकि छिन ।

विश्व वातावरण दिवसका अवसरमा नेपालगञ्जमा आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको अधिकार सुनिश्चित गर्नका लागि सरकारले नै आवश्यक रणनीति तय गर्न आग्रह गरिन ।

उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिइन । प्रकृति र मानवबीचको अभिन्न सम्बन्ध रहेको भन्दै राष्ट्रपती भण्डारीले प्राकृतिक वातावरण यथावत् राख्न र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्ने बताइन ।

जलवायु परिर्वतनको असरका कारण विश्वव्यापी रुपमा वातावरण विनाश हुंदै गएको भन्दै राष्ट्रपति भण्डारीले औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला आएको बताइन ।


आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं संवद्र्धन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न उनले सबैमा अपिल गरिन । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालले वातावरण संरक्षणले पु¥याएको उल्लेख्य योगदानको चर्चा गरिन ।

स्वच्छ वातावरणमा बांच्न पाउने हकलाई सुनिश्चित गर्न आमनागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । भौगोलिक तथा सामाजिक महत्व बोकेको चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत् राखिरहन सञ्चालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजना जस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पु¥याइरहेको भण्डारीले बताइन ।