प्रदेश सभा बैठक : लोक सेवा सम्बन्धी विधेयकमा छलफल

बुलेटिन संवाददाता
१७ जेष्ठ २०७६, शुक्रबार १२:३८

१७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सुदूरपश्चिम प्रदेशमा भइरहेको कर्मचारी अभाव अब अन्य हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश सभाको आजको बैठकमा प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा धारणा राख्दै प्रदेश सभा सदस्यहरूले कर्मचारी समस्या अब अन्त्य हुने बताएका हुन् ।

शुक्रवारको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका लिलाधर भट्ट, पूर्णा जोशी र मानबहादुर धामीले धारणा राखे । विधेयकको छलफलमा नेपाली काँग्रेसका भरत बहादुर खड्का, श्यामलाल राना थारुले धारणा राखेका हुन् । राजपाका तर्फबाट कृष्ण चौधरीले धारणा राखेका थिए । विधेयक पारित भएपछि प्रदेश सरकारले तत्काल भर्ना सुरु गरेर कर्मचारी समस्या हल गर्नुपर्ने उनीहरूले बताए ।

प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जवाफ दिएका थिए । सांसदहरूको प्रश्नमा जवाफ दिँदै मन्त्री शाहले अहिलेको आवश्यक्ता अनुसार विधेयक ल्याइएको स्पष्ट पारे । प्रदेश सभाको अर्को बैठक जेठ १९ गते आइतबार ४ बजे आह्वान गरिएको छ ।