प्रदेश ५ को आर्थिक विकास उत्साहजनक

बुलेटिन संवाददाता
७ जेष्ठ २०७६, मंगलवार ०४:३३

निरा गौतम
रासस
७ जेठ, रुपन्देही । प्रदेश नं ५ का लागि आर्थिक वर्ष ०७५/०७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ ।

केन्द्रीय तथ्याङ्क विभाग काठमाण्डौले आर्थिक वर्षको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्कको अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनः निर्माणका कार्यले लिएको गति र उर्जा संकटको अन्त्य भएपछि प्रदेशको अर्थतन्त्र चालु आर्थिक वर्षमा सकारात्मक दिशातर्फ बढेको दाबि गरेको छ ।

केन्द्रिय तथ्याङ्क विभागले प्रदेश नं ५ ले चालू आर्थिक वर्षमा ७.३७ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने जनाएको छ । प्रदेशमा चालु आर्थिक वर्षको ६ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरुसंग सम्बन्धित आँकडा तथा सूचनाहरुका आधारमा तयार गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादनको स्थिर मूल्य बृद्धिदर आधारभूत मूल्यमा ७.३७ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्धितियक र सेवा क्षेत्र गरी तथ्याङ्क विश्लेषण गर्दा विगत दुई वर्षमा प्राथमिक क्षेत्रको कुल गार्हस्थमा योगदान केहि घट्न गएपनि द्धितियक र सेवा क्षेत्रको योगदान बढेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस प्रदेशमा चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्र अर्थात कृषि तथा वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्रको ३१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू वर्षमा यस क्षेत्रको कुल मुल्य अभिबद्धि बृद्धिदर ६.३ प्रतिशत हुने अनुमान छ । यस्तै द्धितियक क्षेत्र अन्तर्गत निर्माण, उद्योग, विद्युत , ग्यास र पानीको १८ प्रतिशत योगदान छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू वर्षमा यस क्षेत्रको कुल मुल्य अभिबद्धि बृद्धिदर ८.१ प्रतिशत हुने अनुमान छ ।

सेवा क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण वित्तिय मध्यस्थता, रियल तथा व्यवसायीक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रको ५२ प्रतिशत योगदान रहेको अनुमान छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू वर्षमा यस क्षेत्रको कुल मुल्य अभिबद्धि बृद्धिदर ७.७ प्रतिशत हुने अनुमान छ ।

औद्योगिक वर्गीकरण अनुसार चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले ३१ प्रतिशत तथा गैर कृषि क्षेत्रले ६९ प्रतिशत योगदान दिएको विभागले जनाएको छ ।

आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रले ३०.१८ प्रतिशत योगदान दिएको र यस क्षेत्रको मूल्य अभिबृद्धि वार्षिक बृद्धिदर ६.२८ प्रतिशत रहने विभागको अनुमान छ । प्रमुख बालीहरु धन, गहुँ, मकै आदिएको उत्पादनमा बृद्धि भएकाले वार्षिक बृद्धिदर बढेको हो । यस प्रदेशमा चालु र्आिथक वर्षमा आधिकांश कृषि क्षेत्रको उत्पादन बढने अनुमान छ ।

मत्स्यपादन क्षेत्रले ०.७५ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको ०.६९ प्रतिशत, उद्योग क्षेत्रले ६.४६ प्रतिशत, विद्युत,ग्यास, पानीले ०.७४ प्रतिशत, निर्माण क्षेत्रले ९. ६८ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रले १०.३९ प्रतिशत, होटल तथा रेष्टुरेन्ट क्षेत्रले १.७३ प्रतिशत र यातायात , सञ्चार तथा भण्डारण क्षेत्रले ७.०५ प्रतशत योगदान दिएको विभागले जनाएको छ ।

वित्तीय मध्यस्थता अन्तर्गतका बैंक तथा विमा कम्पनी, सामाजिक सुरक्षा योगदान समुहल क्षेत्रले ४.४४ प्रतिशत योगदान दिएका छन् । रियल स्टेट तथा व्यवसायिक सेवा क्षेत्रले ६. ८४ प्रतिशत र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले चालु वर्षको कुल गार्हस्थ उत्पादनमा ३.२३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ ।

शिक्षा क्षेत्रको ८.८४ प्रतिशत, स्वास्थ्य क्षेत्रको २.४३ प्रतिशत योगदान रहेको छ भने अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रले ६.५५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत अवधेश कुमार चौधरीले जानकारी दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले कृषि, उद्योग र पर्यटनका हिसाबले प्रदेश अगाडि रहेकोले आर्थिक बृद्धिदर अझै बढ्ने विश्वास व्यक्त गरे । “प्रदेशमा नदिजन्य पदार्थहरुको उत्खनन र निकासी तथा ठुला ठुला होटलहरु खुल्नेक्रम बढ्दो छ तसर्थ सेवा र खानी तथा उत्खनन् क्षेत्रको योगदान बढि हुनुपर्छ ” उनले भने ।