स्याङ्जामा तीन स्रष्टा सम्मानित

बुलेटिन संवाददाता
६ जेष्ठ २०७६, सोमबार १५:४२

स्याङ्जा ४, जेष्ठ
शनिबार स्याङ्जामा तीन स्रष्टा सम्मानित भए । स्याङ्जा साहित्य समाज तथा भीरकोट नगरपालिकाको आयोजनामा भएको स्रष्टा सम्मान एवम् विशेष रचना समारोहमा स्रष्टाहरू दधिराज सुवेदी (विराटनगर), खगेन्द्र गिरी कोपिला (नेपालगञ्ज) र अग्नीकुमार रेग्मी (स्याङ्जा)लाई नगद, प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको कालीगण्डकी साहित्य पुरस्कार–२०७५ बाट मोरङको विराटनगरमा रहेर नेपाली भाषा साहित्यको समालोचना विधामा सक्रिय वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरेको छ । उत्त पुरस्कारको राशी नगद १५ हजार ५ रहेको छ । प्राज्ञ सुवेदीका समालोचक सङ्ग्रहहरू, नेपाली वाङ्मयका विशिष्ट साधक, प्रतिभा र प्रस्तुती रचना र अवलोकन लगायतका पुस्तक प्रकाशित छन् ।

यस्तैगरी सोही समारोहमा यातिनी स्मृति साहित्य पुरस्कार–२०७५ बाँके जिल्लाको नेपालगञ्जमा रहेर नेपाली भाषा साहित्यको गजल, मुक्तक, नियात्रा तथा समीक्षा र समालोचना विधामा क्रियाशील बरिष्ठ साहित्यकार खगेन्द्र गिरी कोपिलालाई प्रदान गरिएको छ । प्रतिष्ठानले वि.सं. २०७२ सालमा यादव, नीलकण्ठ र तिलकुमारी गिरीका स्मृतिमा छोरा तुलसी गिरी तथा परिवारले स्थापना गरेको पुरस्कारको राशि १५ हजार पाँच रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

यस्तै सोही समारोहमै आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार–२०७५ बाट साहित्यकार अग्निकुमार रेग्मीलाई सम्मानित गरिएको छ । स्याङ्जाको वालिङ्मा रहेर रेग्मीले नेपाली भाषा साहित्यको कविता, काव्य र गजल विधामा निरन्तर कलम चलाउँदै आएका छन् । आमा सुमित्रादेवी गिरीको स्मृतिमा बलसागर गिरी र परिवारद्वारा स्थापना गरिएको पुरस्कारको राशी सात हजार रहेको प्रतिष्ठानका सचिव मिलन समिरेले जानकारी दिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनालले भाषा, कला, संस्कृति समृद्धिको आधार भएको बताए । खनालले स्रष्टा र सिर्जना साझा हुन् भन्ने भावना जागृत गराउन सकेमा सजिलै समृद्धि हासिल हुने जनाए । उनले संस्कार र संस्कृतिलाई पुनर्जीवित गराउनुपर्ने भन्दै स्रष्टाले मानव जीवन र समाजसँग जोडिएर सिर्जना कोर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ता र साहित्यकारहरूले साहित्यको श्रीवृद्धिको लागि साहित्यिक संस्थाहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा साहित्यकारहरूले विभिन्न विधामा विशेष रचना वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टिकाराम वाग्लेको स्वागत र सचिव मिलन समिरको सञ्चालन रहेको थियो ।