भाषा साहित्य संरक्षणका लागि जटुसंसास गठन

बुलेटिन संवाददाता
३ जेष्ठ २०७६, शुक्रबार १५:३७

३ जेठ, पोखरा । नेपाली भाषा र साहित्य संरक्षणका लागि शुक्रबार पोखरामा सम्पन्न भेलाले जराटुप्पा संरक्षण साहित्य समाज, नेपाल नामक संस्था गठन गरेको छ ।
भेलाले डा. नारायणप्रसाद अधिकारीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा प्रा.डा. यामबहादुर पौडेल क्षत्री, सचिवमा मदन भण्डारी, कोषाध्यक्षमा असफल गौतम, सहसचिव दुर्गा न्यौपाने, सदस्यद्वय सुमन श्रापित र पुष्कर वि.क. रहेका छन् ।
भेलालाई सम्बोधन गर्र्दै पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष एवम् नेकपा नेता विश्वप्रकाश लामिछानेले लक्ष्यमा पुग्न जुन बाटो हिँडे पनि सम्बद्धहरूको सहकार्य आवश्यक हुनेमा जोड दिए । लामिछानेले दलित, जनजाति, महिला र युवा विद्यार्थीमा भाषा साहित्यको अध्ययन एवम् लेखनलाई अभिप्रेरित गर्ने संस्थाको साँेच सराहनीय रहेको बताए ।
अध्यक्ष डा नारायणप्रसाद अधिकारीले भौतिक विकाससँगै मान्छेलाई मनको शान्ति आवश्यक हुन्छ भन्दै साहित्यले मान्छेको मन स्वच्छ पार्नु पर्ने धारणा राखे ।
संस्थाका परिकल्पनाकार मदन भण्डारीले नेपाली राजनीतिले भाषा र साहित्यका टुप्पा निभिट्यान्न पार्दै जरा पनि उखेलेर फाल्न थालेकाले सबै इमान्दार साहित्यकार एकै ठाउँमा उभिई कार्य गर्न आवश्यक रहेको बताए। उनले नेताले भने झैँ सिद्धान्तको रङ्ग फुस्रो र जीवनको रङ्ग हरियो हुने हुँदा हरियालीका निम्ति लागि पर्नुपर्ने धारणा राखे ।
पृथ्वीनारायण क्याम्पस, नेपाली विभागका विभागीय प्रमुख कृष्णप्रसाद पौडेलले सामुहिक प्रयासको साँेचप्रति खुसी व्यक्त गर्दै संस्थाले नाम अनुसारको काम गर्न सकोस् भने ।

डा. गेहेन्द्रमान उदास पोखरेलीले समाजमा नकारात्मकता बढी फैलिएकाले अब सकारात्मक चिन्तनले गति लिनै पर्ने बताए । साहित्यकार दुर्गा न्यौपानेले अग्रजले भने झैँ साहित्य भान्छा घर भएकाले मान्छेहरू त्यहाँ पस्नैपर्नेमा जोड दिइन् ।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले नवीन सोँचको यस्तो संस्थासँग मिलेर काम गर्दा गौरव प्राप्त हुने उल्लेख गरे ।
लघुकथा समाज पोखराका अध्यक्ष विष्णु अल्पविरामले संस्था जन्मनु ठूलो कुरो नभएको तर ठोस र मूर्तिकृत काम गर्न प्रयत्नरत रहनुपर्ने बताए ।
कार्यक्रममा साहित्यकार, डा. जगन्नाथ रेग्मी, सुमन श्रापित, विद्यार्थी नेता सन्तोष न्यौपाने, आदर्श सापकोटालगायतले आ–आफ्ना धारणा राखेका थिए ।
मदन भण्डारीको संयोजकत्वमा सम्पन्न उक्त भेलाको सहजीकरण असफल गौतमले गरेका थिए ।
नवगठित समितिले संस्थाको दर्ता प्रक्रियाका लागि डा. जगन्नाथ रेग्मीको संयोजकत्वमा मदन भण्डारी र असफल गौतम रहेको तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।