पाल्पामा बम बिस्फोट, रुपन्देही सहित दर्जनौ जिल्लामा शंकास्पद वस्तु , २ गाडीमा आगजनी

बुलेटिन संवाददाता
५ बैशाख २०७६, बिहीबार ०३:२८

५ बैशाख, बुटवल । देशका बिभिन्न भागमा बिहीबार बिहानैदेखि बम तथा शंकास्पद वस्तु फेला परेका छन् । बम भेटिएपछि स्थानियहरु त्तसित भएका छन । नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले सर्बसाधारणलाई त्रसित  पार्न बम तथा शंकास्पद बस्तु राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ  ।

पाल्पामा विष्फोट

पाल्पाको रिब्दीकोटमा बम विस्फोट नै भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । विस्फोटबाट भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यता रुपन्देहीमा पनि संकास्पद बस्त’ फेला परेको छ । रुपन्देहीको कोटिहवा बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको हो । बम भएको आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ ।
त्यहाँस्थित गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद बस्तु भेटिएको हो । बम भेटिएको सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।

मकवानपुरमा आगजनी

मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ । थाहा नगर र भीमफेदी गाउँपालिकामा अज्ञात समूहले दुई सवारीमा आगजनी गरेको हो ।

मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी थाहा नगरपालिका–४ स्थित पानारो रिसोर्ट अगाडि रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ ।

तीन जनाको संख्यामा रहेका व्यक्तिहरुले गुडिरहेको गाडी रोकेर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ । क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएका छैनन् । आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध र नेता–कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले बन्द आह्वान गरेकाले आगजनीमा यही समूहको संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।