विद्याकी अधिष्ठात्री सरस्वती  र श्री पञ्चमी

बुलेटिन संवाददाता
२६ माघ २०७५, शनिबार १५:३३

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वहरू मध्ये बसन्त पञ्चमी पनि नेपालीहरूको महत्त्वपूर्ण पर्व हो । यस वर्ष माघ २७ सरस्वती पूजा परेको छ ।
माघ शुक्ल पन्चमीमा हिन्दुहरूले मनाउने पर्वलाई वसन्त पञ्चमी,श्री पन्चमी  र सरस्वती पूजा पनि भन्ने गरेको  पाईन्छ ।  विशेष गरेर विद्यालयमा  वा घरमै पनि विद्यार्थीले विद्या, बुद्धि, ज्ञान र वाणीकी अधिष्ठात्री देबी सरस्वती पूजा उत्साह र उमंग पुर्वक  धुमधामसँग मनाउने गर्छन् । यस दिन विद्याप्रति मोह राख्ने विद्यार्थीहरूले बिहानै स्नान गरि स्वच्छ र पबित्र भई विभिन्न संस्कृत श्वोकहरूको बाचन गर्दै सरस्वतीको तस्बिर, मुर्ति या पुस्तकमा वग्देवीको प्रतीक मानेर पूजा गर्ने चलन छ। यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा, बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा पनि  मनाउने चलन छ ।
केही वर्षयता अन्य धर्म मान्ने समुदाय जस्तै बुद्धिष्ट, जैनजस्ता धर्म सम्प्रदायले मनाउने गरेको देखिन्छ ।यस चाडलाई हिन्दु र बौद्ध धर्मावलम्बीको संयुक्त चाड भन्ने गरिन्छ । बौद्ध धर्मावलम्बीले सरस्वतीलाई ज्ञानको प्रतीक मानेर बोधिसत्व मञ्जुश्रीका रूपमा पूजाआजा गर्छन् । नेपाल चीनलगायतका देशमा सरस्वतीलाई मञ्जुश्रीको नामले पूजा गर्ने परम्परा पनि  छ ।
पौराणिक आख्यान अनुसार ऋतुहरूले  ऋतु राज बसन्तको सम्मानमा अरू वाकी पाँच ऋतुहरूले आफ्ना कार्यवधिका आठ-आठ दिन भेटी स्वरूप वसन्त ऋतुलाई चढाएका थिए यसै कारण बसन्त पञ्चमी चैत्र महिनाको कृष्ण पक्षको प्रतिपदामा नमनाई सो भन्दा चालीस दिन पहिले अर्थात माघ शुक्ल पञ्चमीका दिन मनाउने गरिएको हो मान्यता छ ।
सेतो हाँसमा बसेकी, वीणा र पुस्तक हातमा लिएकी, हेर्दा सुन्दर देखिने, बली नलिने, कलामा निपूर्ण, सेतो सारीमा सजिएकी विद्याकीखानी, माला धारण गरेकी, पद्मासनमा बसेकी सरस्वतीले श्रीपञ्चमीका दिन पृथ्वीमा आउने र विद्यार्थीलगायत कला सिक्न चाहनेको गला र जिब्रोमा बसेर सहयोग गर्छिन् ।
भन्ने जनविश्वास छ । भारती, सरस्वती, शारदा,जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी,कामधेनु आदि हजारौँ नाममा सरस्वतीलाई पुकार्नेगरिन्छ । मानिसको हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास भएको मानिन्छ । यस कर्मवादी हातलाई ब्रह्माको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्पराअनुसार प्रत्येक दिन प्रभातकालीन समयमा
“कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।  
करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम् ।।”
भन्दै सरस्वतीसहित लक्ष्मी र ब्रह्माजीलाई स्मरण गरिन्छ । राजहाँसमा सवार भएकी सरस्वतीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएर सधैँ मुस्कुराइरहने सरस्वतीले सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्ने विश्वास गरिन्छ ।
श्रीपञ्चमीका दिनलाई पवित्र दिनका दृष्टिले हेर्ने प्रचलन छ । यस दिन नयाँ कामगर्दा,( गृहप्रवेश )घर सर्दा, पसल खोल्दा, बच्चालाई पढ्न सुरु गराउँदा साइत हेर्नु नपर्ने जनविश्वास छ । त्यस्तै संस्कार, सभ्यता र संस्कृतिकी स्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताक कार्य आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन भन्ने मान्यता समाजमा रहेको छ । सरस्वतीलाई भाव,विचार एवं संवेदना तीन विषयको सङ्गम मानिन्छ ।वीणाले सङ्गीत, पुस्तकले विचार र मयूर बाहनले
कलाको अभिव्यक्ति दिने गर्छ । सरस्वतीको आराधनाले मुर्ख पनि विद्वान् बन्न सक्छ भनिन्छ ।वेदाङ्गमा शिक्षाको पनि स्थान छ तर त्यस शिक्षामा माता सरस्वतीको पूर्ण अधिकार छ । शिक्षाविना व्यक्ति पशु समान हुन्छ भनिएको छ ।

त्यसैले पनि सरस्वतीको महत्त्व रहिआएको छ ।वसन्तको पञ्चमी पछि गर्मी लाग्ने हुँदा यस दिनदेखि वातावरण परिवर्तन भयो भनेर बुझ्ने गरिएको छ । वर्षभरिमा पञ्चमी धेरै आउँछ । तर, चार पञ्चमी महत्त्वपूर्ण रहेको छ । नाग पञ्चमी,ऋषि पञ्चमी, विवाह पञ्चमी, वसन्त पञ्चमी वा
श्री पञ्चमी । जसमध्ये श्री पञ्चमी नै महत्त्वपूर्ण छ । संसारमा सबैभन्दा ठूलो धन विद्याकी खानी भगवती सरस्वतीको विशेष पर्व पूजा गर्ने दिन भएको हुनाले
यस दिनको महत्त्व धेरै छ । अन्य पञ्चमीमा श्री जोडिँदैन तर वसन्त पञ्चमीमा भने श्री जोडिनु सरस्तीलाई सम्मान गरेर पद दिइएको हो । श्रीशब्दले ऐश्वर्य, मान, सम्मान, मङ्गल, आदि भाव बुझाउँछ । यस दिनमा मानिसमा नयाँ सोचको विकास हुन्छ । सरस्वतीको बारेमा एउटा श्लोक प्रचलनमा छ । जसले पनि सरस्वतीको बारेमा प्रष्ट पार्छ ।
‘जिबाग्रे वसते लक्ष्मी ब्रह्मरूपा सरस्वती’ जिब्राको अगाडि बसेकी ब्रह्मको रूप धारण गरेकी सरस्वतीलाई मेरो नमस्कार छ । शास्त्रमा पनि‘विद्या धनम् सर्वधनम् प्रधानम’ भनेर भनिएको छ । सरस्वती र लक्ष्मीलाई सँगै जोडेर हेर्ने पनि गरिन्छ । सरस्वती र लक्ष्मी दुवै एकैसाथ नबस्ने विश्वास गरिन्छ । किनभने उनीहरू एक सौता हुन भन्ने छ । विद्या भएका विद्वान् व्यक्तिमा सधैँ पैसा र धनको अभावै अभाव रहेको हुन्छ भन्ने छ तर त्यो कुरा मिल्दैन विद्यावान मानिस कहिल्यै भोकै बस्नु पर्दैन । विद्या र सरस्वतीको महत्त्व हाम्रो मानव जीवनमा सधैँ रहेको पाइन्छ । सम्पत्ति मात्र भएर बुद्धि नहुँदाको परिणामले मानिसको सम्पत्ति सत्यानास भएर भएको र समाजमा मानिस पुनः गरिब र दरिद्रताले झनै दुःखमा परेका उदाहरण प्रशस्त छन् । त्यसैले पनि लक्ष्मी र सरस्वती दुवै मानव जीवनका लागि आवश्यक छन् । सरस्वती नै लक्ष्मी हुन् किनभने सरस्वतीले विद्या दिइन् भने लक्ष्मीको आफैँ बास हुन्छ ।
तसर्थ बसन्तपन्चमीको दिन सरस्वतीको आरधना गर्नु भनेको बिद्या रूपी ज्ञानको खोजी गर्नु हो । विद्यार्थीले सरस्वतीको पूजा भनेकै अध्ययन हो भन्ने कुरा बुझ्न आवश्यक छ । सदा पबित्र भावले अध्यनमा लागेर नयाँ नयाँ ज्ञान र सीपको अभिवृद्धिमा लाग्न सकेमा सरस्वती पूजाआजा गर्नु को अर्थ सिद्ध हुन्छ । अस्तु ।
(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )