“योगमाया नेपाली नारी प्रतिको सम्मान हो र इतिहास पनि ” साहित्यकार : कार्की

बुलेटिन संवाददाता
७ भाद्र २०७५, बिहीबार ०६:३४

“हामी जसरी सिता, भृकुटीलाई सम्झिन्छौ सम्मान गर्छौ नी योगमाया पनि त्यस्तै पात्र हुन, मेरो बिचारमा र साच्चिकै उहाको यो कठिनपुर्ण जीवनी तयार पार्दा सम्म म यति भन्न सक्छु ।” निलम कार्की निहारिका

पाल्पाको झडेवा भन्ने ठाउँमा बाल्यकाल बिताउनु भएकी साहित्यकार निलम कार्की निहारिकाद्धारा लिखित उपन्यास योगमाया अहिले नेपाली साहित्यमा चर्चामा छ । भने जुन कृति मदन पुरस्कारमा समेत मनोनित भएको छ ।

यही उपन्यासका लागि भरखरै कार्कीले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान पनि हासिल गरिन्। निलमका यस भन्दा अगाडी पनि दुई कबिता संग्रह, दुई कथा संग्रह र उपन्यास अर्की आइमाई र चिरहरण प्रकाशित छन् । साहित्यकार निहारिकाद्धारा लिखित उपन्यास “चिरहरण” २०७२ को पद्यम श्री पुरस्कार बाट पुरस्कृत भइसकेको छ । स्वास्थ्य शिक्षामा एम. एड. गरेकी साहित्यकार निहारिका अहिले नेपाल बाहिर अमेरिकामा बस्छीन । नेपाल बाहिर बसेता पनि उनको तन, मन भने नेपालमै हुन्छ । उपन्यास योगमाया संग सम्बन्धित रहेर उनी नेपाल आएको बेला बुलेटिनकर्मी अस्मिना पाण्डेले गर्नुभएको कुराकानी

 

  • साहित्यमा कसरी प्रबेश गर्नुभयो ?

पाल्पाको झडेवा भन्ने ठाउमा बाल्यकाल बित्यो । त्यतिबेला गाउँमा आमाले महाभारत, रामायणका कथाहरु सुनाउनुहुन्थ्यो । बर्ष बर्षमा हामी स्वस्थानी ब्रत कथा पनि सुन्थ्यौ । कहिले कसरी साहित्य प्रति आकर्षित भइसकेछु ।

 

  • उपन्यास योगमायासम्म कसरी आइपुग्नु भयो ?

सब भन्दा पहिले मैले एउटा आमा शिर्षकको कबिता कक्षा ६ मा पढ्दा लेखेकी थिए । त्यो कबिता किसान नामक मुख पत्रमा प्रकाशित भयो । अनि म कबिता लेख्दै गए थुप्रै फुटकर कबिताहरु पनि लेखे यति भन्ने चाही म अहिले सम्झिन्न, त्यस पछि म नेपालगञ्जमा नर्सिङ्ग पढन थाले अनि पढदै लेख्दै गर्न थाले ।

२०५३ सालमा म रेडियो नेपालमा आबद्ध भए त्यस पछि भने म साहित्यमा निरन्तर लागीरहे अनि कथा पनि लेख्न थाले कथा संग्रह निकाली सकेपछि भने म उपन्यास तिर लागे पहिले म अर्की आईमाइ नामक उपन्यास प्रकाशित गरे अनि चिरहरण प्रकाशित गरे अहिले योगमाया तपाइहरुकै हातमा छ ।

 

  • योगमाया कस्तो खालको उपन्यास हो  ?

योगमाया एउटा नारी पात्रको नामबाट लेखिएको उपन्यास हो जो भोजपुरमा जन्मिनु भएको थियो । उहाकै जीबनमा आधारित एउटा ऐतिहासिक र वहाको संघर्षमा तयार पारिएको उपन्यास हो योगमाया

 

  • तपाई पाल्पाकी चेली तर भोजपुरकी पात्रलाइ छनोट गर्नुभएको छ यो कसरी भयो  ?

हो , मलाई धेरैले यही प्रश्न गर्नुहुन्छ, एकदिन मेरो आफ्नै पुस्तक चिरहरणको एक कार्यक्रम सकाएर बसीरहेका थियौ, त्यतीबेला दाहाल यज्ञनिधि जो मेरो गुरुपनि हनुहुन्छ उहाले भन्नुभो निलमले योगमायाको बारेमा लेख्नुपर्छ भन्नु, भो मैले हस भने तर मलाई योगमायाको बारेमा धेरै कुरा थाहा थिएन । अनि मैले बल्ल उहाको बारेमा अध्ययन गर्न थाले ।

हो हामी पश्चिमको मानिस भोजपुरको बारेमा त्यहाको बिभिन्न भाषागत कठिनाईहरु त अबश्य नै आउने भए आए पनि तर जसो तसो मैले बुझ्ने प्रयास गरे । मैले सुनेको के थिए भने योगमाया बाल बिधवा हुन, राणा शासनकालमा उहाले महिला आन्दोलनका लागी सामुहिक समाधि लिनुभएको भन्ने चाही मलाई थाहा थियो । अनि म अध्यननमै ब्यस्त भए ।

 

  • योगमाया साच्चिकै बाल बिधवा हुनुहुदोरहेछ त ?

होइन ,, योगमाया बाल बिधवा होइनन भन्ने प्रमाणीकरण गरेको छ योगमाया उपन्यासले । उहा पछि उहाको श्रीमानले २ ओटा बिबाह गनुभएको भेटियो उहाँबाट जन्मिएका सन्ततीहरु संग पनि म यो उपन्यास तयार गर्नका लागी कुराकानी गरेकी छु । योगमाया त्यस्तो पात्र हुनुहुन्छ उहाको बाल बिबाह भयो र घर गर्न कठिन भइसकेपछि उहा भागेर माइतीमा आइपुग्नु भयो तर माइतीमा पनि घरबाट भागेर हिडेकी छोरी भनेर स्विकार्य भएन ।

अनि उहा भारत जानुभएको छ भारतमा पनि उहा बस्न सक्नुभएन र नेपाल आउनुभयो र साधनामा लाग्नुभयो । उहाको बिद्रोही भावना र यो अन्याय सहन सक्दिन भनेर त्यसपछि चाही साच्चिकै यो आन्दोलनको रुपमा अगाडी बढ्नुपर्छ है भनेर उहाले सामाजिक परिबर्तनका लागी कुटी बनाएर बस्नुभयो र राणा शासनकालको यो निरङ्गकुशता सहन सक्दिन भनेर अन्यायका लागी लड्नुभयो ।

 

  • भनिन्छ, उपन्यासहरु बढि काल्पनिक हुन्छन्, यो उपन्यास कत्तिको सत्य छ ?

यसको ठ्याकै यति सत्य भन्नुभन्दा पनि मैले चाही योगमायामा सहि र सत्य प्रमाणको आधारहरु तयार पारेकी छु भन्ने गरेकी छु जसका लागी मैले उपन्यासको पछाडी मैले भेटेका पात्रहरुको बारेमा पनि उल्लेख गरेकी छु । यसमा मैले अलिकती पढ्नका लागी सजिलो होस भनेर मात्रै केही अंश मात्रै काल्पनिक प्रयोग गरेकी छु ।

 

  • भनिन्छ, कुनै पनि साहित्य रचना गर्नको लागी बिशेष ठाउ, समय छुटटाउनु पर्दछ । तपाईले कुन समयको छनोट गनुहुन्थ्यो ?

हो, कतिपय पुरुष साहित्यकारहरुले आफ्ना कृति हरु तयार पार्नको लागी एकान्त रमणिय ठाउँमा पुगे भन्नुहुन्छ, तर हामी नारी भएकाले पनि त्यो सब सम्भब नभएको होला मलाई पनि त्यस्तै भयो । बच्चाहरुको स्याहार सुसार घरायसी काम गर्नुपर्ने त्यसैले पनि म लेख्ने काम सधै रातको समयमा गर्थे । रातको समयमा एकाग्रता पनि हुने, र मलाइ पनि रातको समय मन पर्ने हुदा म रातमै लेख्ने गर्थे । अहिले पनि त नारीलाइ निद्रा सँग समय सापटी माग्नु पर्ने अवस्था छ नी त । म पनि निद्रा सँग समय सापटी मागेर यो उपन्यास तयार पारेकी हु ।

 

  • साहित्यमा नव प्रबेश गर्नेहरुलाई के भन्न चाहानुहुन्छ ?

अध्ययन गर्नुस अध्ययन जरुरी छ। हामी जति अध्ययन गर्छौ त्यती सहज रुपमा लेख्न सक्छौ, जति लेख्यो त्यती निखार आउँछ । निरन्तरता दिनुभयो भने साहित्यमा अगाडी बढन सकिन्छ ।

 

  • अब महिलाहरु साहित्यमा कसरी अगाडी बढ्नुपर्दछ ?

अध्ययन र अभ्यास गरियो भने जुसुकै क्षेत्रमा पनि सफलता हात पार्न सकिन्छ भन्ने मैले अनुभव गरेकी छु ।

 

  • साहित्य के हो तपाईको बिचारमा ?

हिजोको दिनमा रहर आजको अवस्थामा हेर्दा जिम्मेवारी हो ।

 

  • समयलाई कसरी बुझ्नुहुन्छ ? मानिसहरु समयलाई आ -आफ्नै तरिकाले परिभाषित गरिरहेका हुन्छन् नी ?

समय दौडिरहेको घोडा हो राम्रोसंग चढ्न सके ठाउँमा पुर्र्याउन सक्छ नत्र भने लडाउन पनि सक्छ ।

 

  • भन्छन नी साहित्यकारहरु धेरै कल्पनामा डुब्छन उनीहरु धेरै कुराहरुलाई कल्पनाकै संसारमा डुबाउँछन् पनि साधारण व्यक्ति र साहित्यकारहरुको मनमा भिन्नता छ र केही ?

छ नि साहित्यकारहरु बढी संबेदनशिल हुन्छन् ।

 

  • तपाई कुन समयमा कलम चलाउने गर्नुहुन्छ ?

म रातको समयमा एकान्तमा कलम चलाउछु किनकी रात मलाई प्यारो लान्छ केही काम हुदैन आफ्नो निन्द्रा त हो त्यो त आफनै हातमा हुन्छ त्यसैले ।

 

  • यहाँले बिहानीको सुरुवात कसरी गर्नुहुन्छ ?

नेपालको समाचार सुन्छु अनि हरेक दिनको सुरुवात गरेकी हन्छु किनभने आफु जन्मिएको देशमा के भइरहेको छ भन्ने कौतुहलता हुन्छ ।

 

  • अन्त्यमा के भन्न चाहानुहुन्छ ?

म त अहिलेको परिप्रेक्ष्यमा योगमाया उपन्यास पढ्नुहोस योगमाया पनि सीता, भृकुटी भन्दा कम थिइनन । योगमायाको सम्मानमा हामी सबै जुट्नुपर्छ भन्न चाहान्छु । र तपाई प्रति आभारी छु र साहित्यमा हातेमालो गरौ आपनो परिस्थिती कठिनाई त सबैलाई हुन्छन् तर पनि समयको ब्यबस्थापन गरेर अगाडी बढ्यो भने सफल हुन सकिन्छ । हामी नारी पनि कम छैनौ भन्ने उदाहरणीय काम गरी समाज परिबर्तनमा लागौ भन्न चाहान्छु ।